September 30, 2023, Saturday
२०८० आश्विन १३, शनिबार
KN hd tv

नेपालका १२ जिल्लामा निषेधाज्ञा, विभिन्न क्षेत्र सील

काठमाडौं –विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय नेपालमा पनि बढ्दो छ ।

बढ्दो संक्रमणबाट बच्न स्वास्थ्य परीक्षणको दायरा बढाउन तथा लकडाउन फेरि गर्न विज्ञहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । प्रधानमन्त्री ओलीले हिजो प्रमुख प्रतिपक्षी दलका नेतासहित स्वास्थ्य विज्ञसँग बढ्दो कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न चाल्नुपर्ने कदमका विषयमा परामर्श लिएका थिए ।

सरकारले पनि लकडाउन हटाएपछि संक्रमण फैलिएका क्षेत्रमा सील गर्ने तथा जिल्ला, स्थानीय तहमा निषेधाज्ञा जारी गर्ने रणनीति लिएको छ ।

कोरोना संक्रमणको बढ्दो गतिलाई फैलन नदिन अहिलेसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

सरकारले संक्रमणको गति र अवस्था हेरेर स्थानीय प्रशासनलाई नै आवश्यक निर्णय गर्न सक्ने अधिकार दिएपछि १२ वटा जिल्लामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका हुन् ।

मंगलबार साँझसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए । उनका अनुसार केही जिल्लामा पूर्ण निषेधाज्ञा लागू गरिएको छ भने केहीमा बढी प्रभावित रहेका स्थानीय तह र वडामा मात्रै निषेधाज्ञा गरिएको छ ।

सप्तरी, बाँके, बारा र पर्सामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ, नुवाकोट र दार्चुलामा केही स्थानीय तह र स्थानीय तहभित्रका केही वडामा मात्रै निषेधाज्ञा लागू गरिएको छ ।

जिल्लामा संक्रमणको अवस्था हेरेर थप जिल्लाले समेत निषेधाज्ञा जारी गर्नुपर्ने वा नपर्ने निर्णय गर्ने अधिकार जिल्लास्थित प्रमुख जिल्ला अधिकारीलाई दिइएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए ।

संक्रमणको गति फैलन सक्ने भन्दै अन्य जिल्लाले समेत जिल्लाभित्र हुने गतिविधिमा नियन्त्रण गर्न स्थानीय प्रशासनलाई सक्रिय बनाएका छन् । यस्तै, भारततर्फका नाकासँग जोडिएका सीमा क्षेत्रमा समेत स्थानीय प्रशासनले कडा निगरानी राख्दै आइरहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको