October 22, 2024, Tuesday
KN hd tv

सेती नदीमा पानीको बहाव बढ्यो

डोटी – लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव बढेको छ ।

पानीको बहाव बढेकाले नदी आसपासका बस्ती, तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँमा खतरा हुनसक्ने भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

सेती नदी आसपासका बस्तीहरु बानी, डुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा तथा नारीदाङका स्थानीयवासीलाई विशेष गरी रातिको समयमा सचेत रहन प्रहरीले आग्रह गरेको छ ।

नदीमा पानीको बहाव बढ्न थालेसँगै इलाका प्रहरी कार्यालय दिपायल, प्रहरी चौकी तिल्तालीको टोलीले नागरिकलाई नदी क्षेत्रमा नजान तथा सचेत रहन माइकिङ गरिरहेको छ । नदी आसपासका नागरिकलाई सुरक्षित रहन र नदीमा माछा मार्दै आएका नागरिकलाई केही दिन नदीमा नजान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताउनुभयो ।

प्रजिअ भट्टराईले बाढी र पहिरो आउने खतरा बढेकाले विपद् व्यवस्थापनमा जुट्नका लागि जिल्लाका तीनवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई ‘हाइ अलर्ट’ मा बस्न निर्देशन दिनु भएको छ । 

विपदबाट जोगिन प्रशासनले २४ सै घण्टा सुरक्षाकर्मीलाई ती क्षेत्रमा अनुगमन गर्न निर्देशन दिएको प्रशासनले जनाएको छ । जिल्लामा रहेका विभिन्न नदी तथा ठूला खोलामा पानीको सतह मापन गरिने उपकरण नभएका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न थालेपछि सतर्कता अपनाउन स्थानीयवासीलाई प्रशासनले आग्रह गरेको छ । 

शीर्ष समाचार

धेरै पढिएको