October 22, 2024, Tuesday
KN hd tv

प्रकोपका जोखिम पहिचान गर्दै स्थानीय तह

तनहुँ – तनहुँ जिल्लाका स्थानीय तहहरुले मनसुनको समयमा प्रकोपका जोखिम हुनसक्ने सम्भावित स्थानको पहिचान गर्ने भएका छन् ।

जिल्लाका विभिन्न स्थानमा यस वर्ष बाढी पहिरामा पुरिएर १३ जनाको ज्यान गइसकेको र अझै पनि प्रकोपका जोखिम हुनसक्ने बताइएको छ । यस्तो अवस्थालाई ध्यादिँदै स्थानीय तहले आ–आफ्ना क्षेत्रमा प्रकोपका जोखिम हुनसक्ने स्थानको पहिचान गरी जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्न लागेका हुन् । जिल्ला विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले स्थानीय विपद् व्यवस्थापन समितिलाई थप क्रियाशील बनाई जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र एवं क्लष्टर नेतासँग निरन्तर सम्पर्क तथा समन्वयमा रहने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

बैठकले मनसुन अवधिमा अझै पनि प्रकोपका घटना दोहोरिन सक्ने अवस्थालाई मध्यनजर गर्दै विभिन्न कार्यालय तथा सङ्घसंस्थाले आ–आफ्नो स्रोत साधन एवं सम्भव भएसम्म आपत्कालीन सहयोग सामग्रीको व्यवस्था गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

हालको मनसुनको समयमा हुनसक्ने बाढी पहिरालगायतका प्रकोपका घटनालाई विशेष ध्यानमा राखी खोज, उद्धार तथा आपत्कालीन राहत वितरण कार्यलाई चुस्त र प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका दक्ष खोज तथा उद्धारकर्ता सुरक्षाकर्मी सम्मिलित टोलीलाई आवश्यक सामग्रीसहित तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ ।

उनका अनुसार जिल्ला विपद् व्यवस्थापन कोषमा प्राप्त हुने गरी रु ५० लाख निकासाका लागि गृहमन्त्रालयमा अनुरोध गरिएको छ । साथै जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति तथा सम्बद्ध सरकारी एवं गैरसरकारी सङ्घसंस्थाले आपत्कालीन अवस्थामा वितरण गर्नुपर्ने राहतको व्यवस्थापन गरी तयारी अवस्थामा रहने निर्णय गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको