October 22, 2024, Tuesday
KN hd tv

प्रचण्ड–नेपाल समूहको राष्ट्रपतिसँग भेट: महाअभियोगको हल्लामा विश्वास नगर्न आग्रह

काठमाडौं – सत्तारूढ नेकपा विभाजनको संघारमा पुगेका बेला अध्यक्ष प्रचण्डसहितका तीन शीर्ष नेताले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।

४५ मिनेटको भेटमा प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने भनेर गरिएको प्रचार अनर्गल भएको बताएका छन् ।

यस्तै भेटमा नेकपाभित्र देखिएको विवादले मुलुक नै संकटमा जाने भएकाले त्यसमा संयम र अभिभावकीय भूमिका निर्वाह गर्न नेताहरूले आग्रह गरेको प्रचण्ड निकट स्रोतले जनाएको छ ।

तीनै नेताले प्रधानमन्त्रीलाई सम्झाउनका लागि पनि राष्ट्रपतिमार्फत आग्रह गरेको बताइएको छ ।

राष्ट्रपतिका स्वकिय सचिव डा.भेषराज अधिकारीले भने तीन जना नेतासँग राष्ट्रपतिको के कुरा भयो भन्ने जानकारी नभएको बताए ।

‘उहाँहरू सवा ११ मा आएर १२ बजे निस्कनुभएको हो, के कसो कुरा भयो जानकारी छैन,’ डा. अधिकारीले भने ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड एवं बरिष्ठ नेता माधव कुमार नेपाल समूहको शक्ति संघर्षले छिन्नभिन्नको अवस्थामा पुगेको नेकपालाई फुटबाट जोगाउने प्रयासस्वरूप अध्यक्षद्वयबीच आइतबार नै निर्णायक वार्ता पनि हुँदैछ ।

शीर्ष समाचार

धेरै पढिएको