October 22, 2024, Tuesday
KN hd tv

माथिल्लो तामाकोसीः सेयरधनीलाई लाभांश दिन पेव्याक परियड’ १५ वर्ष पुर्याइने

काठमाडौं – मुख्य लगानीकर्ता कर्मचारी सञ्चय कोषले निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको कर्जा भुक्तान म्याद (पेव्याक परियड) थपेर १५ वर्ष पुर्याउने भएको छ ।

आयोजनाले विद्युत उत्पादन थालेको १० वर्षभित्र सबै ऋण चुक्ता गर्नुपर्ने व्यवस्थालाई परिवर्तन गरी ५ वर्ष म्याद थप गर्न गर्ने सञ्चय कोषले जानकारी दिएको छ ।

१० वर्षभित्र ऋण तिर्न नसक्ने अवस्था आएपछि सञ्चय कोषले ऋण भुक्तान म्याद ५ वर्षसम्म थप गर्न लागेको हो । समय थप भएपछि ऋण तिर्न ४८ किस्ता रहेकामा यसलाई बढाएर ६० किस्ता पुग्ने छ ।

अहिलेको अवस्था हेर्दा माथिल्लो तामाकोसीले १० वर्षमा कर्जा चुक्ता गर्न नसक्ने देखिएकाले १५ वर्ष पुर्याउने पेव्याक परियड बढाउने  कोषका वरिष्ठ प्रवन्धक अर्जुनकुमार गौतमले बताए । उनले यस विषयमा छिट्टै निर्णय हुने जानकारी दिए । म्याद थप गर्नेमा सबै सहमत भइसकेकाले औपचारिक निर्णय हुन बाँकी रहेको गौतमले सुनाए ।  

माथिल्लो तामाकोसीले आगामी ०७८ को असारदेखि ऋण भुक्तानी सुरु गर्ने तय भएको छ । आउँदो कात्तिकसम्म आयोजनाको ६ ओटा मध्ये पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन हुने छ । त्यसपछि क्रमश सञ्चालन हुँदै असारदेखि आयोजना पुर्ण क्षमतामा सञ्चालनमा आउने छ । 

पेव्याक परियड बढाउँदा लगानीकर्ताले लाभांश पनि पाउने अवस्था सिर्जना हुने कोषका प्रशासक तुलसी गौतमले बताए । सञ्चालनको दोस्रो वर्षदेखि सेयरधनीलाई लाभांश बाँड्न सक्ने उनको भनाई छ ।

आयोजनालाई आवश्यक थप ऋण लगानी गर्ने सञ्चय कोषले आयोजना सञ्चालनमा आएको २ वर्षदेखि सेयरधनीलाई लाभांश वितरण गर्नुपर्ने सर्त राखेको थियो । 

सेयरधनीलाई न्यूनतम ८ देखि १० प्रतिशतसम्म लाभांश दिन सक्ने सञ्चय कोषको विश्लेषण छ । माथिल्लो तामाकोसीको सुरुको वर्षको आम्दानी ९ अर्ब रुपैयाँ हुने छ । त्यसपछि वार्षिक ३ प्रतिशतका दरले केही वर्ष मूल्य वृद्धि हुने छ ।

आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । हाल ठाडो पेनस्टक जडानको काम अन्तिम चरणमा पुगेको छ । आउँदो २ महिनाभित्र आयोजनाको सबैभन्दा जटिल मानिएको पेनस्टक पाइन जडानको काम सकिने अपर हाइड्रोपावर लिमिटेडका प्रवत्ता गणेश न्यौपानेले बताएका छन । उनले कात्तिकसम्म आयोजना सञ्चालनमा आइसक्ने जानकारी दिए ।

आयोजनको लागत बढेर ५१ अर्ब रुपैयाँ पुगेको छ । निर्माण अवधिको ब्याजसमेत गरी आयोजनाको कुल लागत ७५ अर्ब रुपैयाँसम्म पुग्ने अनुमान कोषको छ । नागरिक लगानी कोष र नेपाल टेलिकमको लगानी छ । 

निर्माण अवधिको ब्याजसहित पहिला ४१ अर्ब रुपैयाँ अनुमान गरिएको थियो, विविध कारणले लागत बढे छ । ब्याज बाहेक आयोजनाको लागत ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिएको थियो ।

राष्ट्रिय गौरवको तामाकोसीबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने छ । आयोजनाबाट थप १७ करोड ५० लाख युनिट बिजुली उत्पादन गर्न अपर तामाकोसीले रोलवालिङ डाइभर्सनको काम अघि बढाएको छ ।

सुख्खामा तामाकोसीमा पानीको वहाव कम भई बिजुली उत्पादन ९० मेगावाटमा सीमित हुने अध्ययनले देखाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको