October 22, 2024, Tuesday
KN hd tv

विभिन्न विकल्पको खोजीमा ओली

काठमाण्डाै – नेकपाभित्रको आन्तरिक विवाद बढ्दै जाँदा दुवै पक्ष आआफ्नै रणनीतिमा जुटेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली विभिन्न विकल्पको खोजीमा हुनुहुन्छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष ओलीलाई राजीनामा दिन बाध्य पार्ने रणनीतिमा जुटेको छ ।

पार्टी भित्रैबाट राजीनामा माग भएपछि ओलीले आफू निकटका नेताहरुसँग परामर्श गरिरहनुभएको छ । हिजो उहाँले बालुवाटारमा आफू निकट मन्त्री र नेताहरूसँग छलफल गर्नुभएको थियो । दिउँसो पार्टी सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मासहितका नेताहरूसँग पनि परामर्श गर्नुभएको थियो ।

स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले आफ्नो राजीनामा मागेपछि उहाँ दबाबमा पर्नुभएको छ । पार्टी भित्रबाट प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद छाड्न दबाब दिए पनि उहाँ दुवै पद नछाड्ने अडानमा हुनुहुन्छ ।

आफूमाथि दबाब बढ्दै जाँदा ओलीले विभिन्न विकल्पबारे तयारी गर्नुभएको नेकपाका नेताहरु बताउँछन् । संसद विघटन गर्ने, संकटकाल लगाउने वा दल विभाजन खुकुलो बनाउने अध्यादेश फेरि जारी गर्ने र संसदीय दलमा बहुमत पुर्याएर सरकार नछाड्ने विकल्प ओलीसँग छ ।

प्रधानमन्त्री ओलीले विभिन्न विकल्पबारे परामर्श गरिरहँदा प्रचण्ड–नेपाल समूहले ओलीमाथि दबाब बनाउने रणनीति लिएको छ । प्रधानमन्त्री ओली सहमतिमा नआए बहुमतका आधारमा निर्णय लिने दाहाल–नेपाल समूहको तयारी छ । यो समूहको हिजो ललितपुरमा भएको भोलाले विधानअनुसार पार्टी निर्णय मान्न प्रधानमन्त्रीलाई बाध्य बनाउने निष्कर्ष निकालेको छ । पार्टी विधानमा बहुमतको निर्णय अल्पमतले मान्नुपर्ने प्रावधान छ ।

नेकपाको सचिवालय र स्थायी कमिटीसँगै केन्द्रीय समितिमा पनि ओली अल्पमतमा हुनुहुन्छ । सचिवालयका नौमध्ये ६ र स्थायी कमिटीका ४४ मध्ये ३० सदस्य ओलीको विपक्षमा छन् ।

स्थायी कमिटीको हिजो र अस्तिको बैठकमा अधिकांश सदस्यले ओलीको राजीनामा मागेका थिए । स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

शीर्ष समाचार

धेरै पढिएको