July 26, 2024, Friday
KN hd tv

क्रिकेटबाट सन्यासको घोषणा गरेका आमिरले भने- मलाई मानसिक यातना दिइयो

एजेन्सी – पाकिस्तानका बाँयाहाते तीव्र गतिका बलर मोहम्मद आमिरले बिहीबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे । तर सन्यास लिनुको कारण न त उनको उमेर हो न त कुनै पारिवारिक कारण ।

सन्यासको जानकारी गराउँदै २८ वर्षीय आमिरले व्यवस्थापन टोलीबाट आफुमाथि भएको मानसिक यातनाका कारण यस्तो निर्णय लिएको बताएका छन् ।

सन् २०१९ को जुलाईमा टेस्ट क्रिकेटबाट सन्यास लिएका आमिरले पाकिस्तानका लागि १४७ खेल खेल्दा २५९ विकेट लिएका छन् ।

सन् २०१० मा इंग्ल्यान्ड भ्रमणमा जाँदा भएको स्पट फिक्सिङको आरोपमा उनीमाथि ५ वर्षको प्रतिबन्ध लाग्‍नुका साथै ६ महिनाको जेल सजाय पनि सुनाइएको थियो । प्रतिबन्ध फुकुवा भएपछि पनि आमिरको फर्ममा कुनै कमी आएको थिएन ।

बिहीबार सामा टिभीसँग कुराकानी गर्दै आमिरले भने ,’म अहिले नै क्रिकेट छोड्ने निर्णयमा पुगेको छु किनभने मलाई मानसिक यातना दिइएको छ । यति धेरै यातना मैले अब सहन सक्छु जस्तो मलाई लाग्दैन ।’

‘२०१० देखि २०१५ सम्म मैले धेरै यातना भोगेको छु । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले ममाथि धेरै लगानी गरेको बताएर मलाई मानसिक यातना दिइयो ।’, उनले थपे, ‘म स्पष्‍ट पार्न चाहन्छु कि केवल दुई व्यक्तिले मात्र ममाथि विश्‍वास देखाएका थिए; पीसीबीका पूर्वअध्यक्ष नजम सेठी र पूर्वकप्तान शाहिद अफ्रिदी । टोलीका अन्य सदस्यले त हामी आमिरसँग खेल्न चाहँदैनौ भनेर पनि भन्‍ने गरेका थिए ।’

‘प्रत्येक दुई महिनामा कसै न कसैले मेरोविरुद्धमा बोलेकै हुन्छ । कहिले बलिङ कोच वकार युनिस भन्छन् आमिरले हामीलाई धोका दिए, कहिलेकाहीँ मलाई मेरो कार्यशैलीप्रति असन्तुष्टि जनाइने गरिन्छ ।’, आमिरले भनेका छन्

यसबारेमा पाकिस्तान क्रिकेट बोर्डले भने एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘पीसीबीका प्रमुख कार्यकारी वसीम खानले मोहम्मद आमिरसँग कुरा गरेपछि आमिरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरे ।’ आमिरले आफूलाई अब पाकिस्तानबाट खेल्‍ने चाहना नरहेको र आगामी दिनहरुमा उनलाई समावेश नगर्ने खालका कुरा खानसँग भनेको बताइएको छ ।

यो आमिरको व्यक्तिगत निर्णय भएको र यो निर्णयलाई सम्मान गर्ने बताउँदै पीसीबीले यस विषयमा थप टिप्पणी नगर्ने जनाएको छ ।

आमिरले पाकिस्तानका लागि आफ्नो अन्तिम टी-२० गएको अगस्टमा इंग्ल्यान्डविरुद्ध खेलेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको