July 26, 2024, Friday
KN hd tv

वार्नरले भारतविरुद्धको पहिलो टेस्ट पनि नखेल्ने

काठमाडौं– अस्ट्रेलियन ब्याट्सम्यान डेभिड वार्नरले भारतविरुद्धको टेस्ट क्रिकेट सिरिजको पहिलो खेल पनि नखेल्ने भएका छन्।

भारतसँगको दोस्रो एकदिवसीय खेलमा घाइते हुँदै मैदानबाट बाहिरिएका वार्नरले त्यसपछिका खेल गुमाएका थिए। डिसेम्बर १७ देखि सुरु हुने पहिलो टेस्ट क्रिकेट खेलमा पनि उनी टिम बाहिर नै रहने भएका हुन्। पहिलो टेस्टका लागि उनको स्थानमा जोइ बुर्नसलाई अभ्यासका लागि बोलाइएको छ।

घाइते भएसँगै उनले एकदिवसीय सिरिजको अन्तिम खेल र टि–२० क्रिकेट सिरिज गुमाएका थिए। भारतविरुद्धको एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा फिल्डिङ गर्ने क्रममा उनी घाइते भएका थिए। एक खेलअघि नै एकदिवसीय क्रिकेट सिरिज अस्ट्रेलियालाई दिलाउन महत्वपूर्ण भूमिका खेलेका वार्नर घाइते हुँदै बाहिरिएपछि टि–२० क्रिकेट सिरिज भने भारतलाई २–१ ले सुम्पेको थियो।

एकदिवसीय क्रिकेट सिरिज भने अस्ट्रेलियाले २–१ ले जित्दा वार्नरले भारतविरुद्ध पहिलो खेलमा ६९ र दोस्रो खेलमा ८३ रन बनाएका थिए।
टेस्ट क्रिकेट सिरिजअघि नै वार्नर ठीक हुने भनिए पनि उनी पूर्णरुपमा ठीक नहुँदा पहिलो टेस्ट खेल गुमाउने भएका हुन्।

शीर्ष समाचार

धेरै पढिएको