October 27, 2024, Sunday
KN hd tv

सामाजिक सञ्जालको बढ्दो प्रयोगले पुस्तकालयमा पाठकको संख्या न्यून

बुटवल – कोरोना महामारीले विद्यालय र क्याम्पस तहको पढाइ रोकिएजस्तै ज्ञानआर्जनका लागि जाने पुस्तकालयमा पनि पाठकहरू जान छाडेका छन्।

महामारीमा इन्टरनेटको प्रयोग बढे पनि पठन संस्कृति झनै खुम्चिँदै गएको छ। अहिले यस क्षेत्रमा सञ्चालित लाइब्रेरीहरू पाठक कुरिरहेका छन्। प्रविधिको विकाससँगै पुस्तकालयमा पुगेर पुस्तक पढ्ने पाठकहरू घट्दै गएका बेला महामारीले ‘लाइब्रेरी’ पुग्नेहरूलाई झनै घटाइदिएको छ।

पछिल्लो समय नयाँ पुस्तकालय खोल्ने क्रम ठप्पजस्तै छ भने पुराना र ऐतिहासिक महत्व बोकेका पुस्तकालयसमेत बन्द हुने अवस्थामा पुगेका छन्। पत्रपत्रिका र पुस्तकको बिक्री बढ्दै गएको र सर्वसाधारणमा समेत इन्टरनेटको पहुँच बढेसँगै सञ्चारका नयाँ प्रविधिको प्रयोगमा रमाउन थाल्दा पुस्तकालय नै धाएर किताब तथा पत्रपत्रिका पढ्ने रुचि आम पाठकमा घट्दै गएको हो।

सरकारले कोरोना रोकथाम र नियन्त्रण गर्नका लागि लकडाउन गरेपछि बन्द भएको बु्टवलको ज्ञानज्योति पुस्तकालय आठ महिना बितिसक्दा पनि अझै खुल्न सकेको छैन। विगतमा सामान्य चहलपहल हुने पुस्तकालय क्षेत्र अहिले कोरोना महामारीका कारण सुनसान बनेको छ। यो पुस्तकालय २०४३ सालमा स्थापना भएको हो। 

फेसबुकलगायत सामाजिक सञ्जाल र हरेकसँग इन्टरनेटको सहज पहुँचका कारण पुस्तकालय धाएर सिंगो किताब अध्ययन गर्ने प्रवृत्ति घटेको ज्ञानज्योति पुस्तकालय सञ्चालक समिति अध्यक्ष टुकबहादुर क्षत्री बताउँछन्।

‘प्रविधिको पहुँच बढेपछि अहिले विभिन्न सहयोगी संस्थाहरुको सहयोगमा विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी) बनाएका छौँ, भवनमा कम्प्युटर, इन्टरनेटजस्ता आवश्यक माध्यम पनि उपलब्ध छन्। तर पनि पाठक आउँदैनन्’, उनले भने। पाँच हजार पाँचसय भन्दा बढी पुस्तक रहेको यो पुस्तकालयमा पुस्तक पढ्नै भनेर आउने पाठकको संख्या एकदमै न्यून छ।

‘पुस्तकालयमा आउने पाठकहरुलाई पुस्तकहरुसँगै अन्य विभिन्न जानकारी दिन तालिमप्राप्त लाइब्रेरियन राखेका छौँ, भौतिक साधन स्रोतले सक्षम भए पनि यी पुस्तकालयप्रति अध्ययनमा रुचि राख्ने नयाँ पुस्ता आकर्षित नहुँदा पुस्तकालय सुनसान भएको छ’, क्षत्रीले भने।

त्यस्तै बुटवल–१ मा रहेको यस क्षेत्रकै पुरानो मानिने महावीर पुस्तकालय पनि पछिल्लो समय सुनसान छ। बुटवलको तिनाउ पुल तर्नेबित्तिकै सडकदेखि नजिकै  यो पुस्तकालय छ।

शीर्ष समाचार

धेरै पढिएको