July 26, 2024, Friday
KN hd tv

नेकपा विवाद स्थायी कमिटीमा, कस्तो छ शक्ति समीकरण?

काठमाडौं- गत असोजदेखि बढ्दै गएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद सचिवालयमै नसल्टिएपछि स्थायी कमिटीमा पुगेको छ। मंसिर १७ गते बसेको सचिवालय बैठकले २१ गतेलाई स्थायी कमिटी बैठक तोकेको थियो।

नेकपा कात्तिक अन्तिम हप्तादेखि लिखित दस्तावेजको ‘युद्ध’ सुरु भएको हो। सुरुमा सचिवालयका बहुमत सदस्यहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम तथा  नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सचिवालय बैठकका लागि पत्र बुझाएका थिए। त्यसपछि ओलीले प्रचण्डलाई सम्बोधन गर्दै पत्र लेखे। प्रचण्डले त्यसको जवाफ पनि पत्रमार्फत् नै फर्काए।

गत कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले १९ पृष्ठको प्रस्ताव पेश गरे। त्यसको प्रतिवाद गर्दै ओलीले कात्तिक १३ गतेको सचिवालय बैठक ३८ पृष्ठको प्रस्ताव पेश गरे।

दुवै प्रस्ताव एक अर्काप्रति आरोप र गुनासोले भरिएका छन्।

प्रचण्डको प्रस्ताव ‘लाञ्छनापत्र’ भएकाले त्यसलाई फिर्ता लिएर उनले माफी माग्नुपर्ने ओलीको माग छ। उनी निकटका नेताहरुले दुवै प्रस्तावलाई फिर्ता लिएर साझा प्रस्ताव तयार पार्नुपर्ने प्रयास गरेका थिए। तर प्रचण्डको असहमतिका कारण प्रस्ताव फिर्ता नभई अघि बढेका छन्।

आइतबार बोलाइएको स्थायी कमिटी बैठकमा ओली पक्ष एकातिर र  प्रचण्ड-नेपाल पक्ष अर्कोतिर हुने निश्चितप्रायः छ। पार्टी कमिटीहरुमा ओली अल्पमतमा छन्। सचिवालयमा पनि उनको पक्षमा एकतिहाइ नेताहरु मात्रै छन्। जसले गर्दा उनले आलोचना खेप्नुपर्ने हुनसक्छ।

नेकपाको स्थायी कमिटीमा ४४ जना सदस्य छन्। जसमध्ये प्रचण्ड-नेपाल समूहमा प्रष्ट ३० जना र ओली समूहमा प्रष्ट १२ जना छन्। दुई जनाको विषयमा भने नेकपामा अन्याेल छ।

प्रचण्ड-नेपाल पक्षका नेताहरु
यो पक्षमा पूर्वमाओवादीका १६ जना नेताहरु छन्। जसमा पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, गणेश साह, गिरिराजमणि पोखरेल, चक्रपाणी खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, वर्षमान पुन, मणि थापा, मातृका यादव, लिलामणि पोखरेल, शक्तिबहादुर बस्नेत, हरिबोल गजुरेल छन्।

त्यस्तै, माधव नेपाल पक्षका १२ जना नेताहरु छन्। जसमा माधव कुमार नेपाल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, घनश्याम भुसाल, भीमप्रसाद आचार्य, भीम रावल, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुजी पन्त, वेदुराम भुसाल छन्।

यही समूहमा झलनाथ खनाल र वामदेव गौतम पनि छन्।

ओली पक्षका नेताहरु
ओली समूहमा पनि १२ जना नै छन्। केपी शर्मा ओली, ईश्वर पोखरेल, विष्णु पौडेल, किरण गुरुङ, छविलाल विश्वकर्मा, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सत्यनारायण मण्डल, शंकर पोखरेल, सुवास नेम्वाङ, विष्णु रिमाल र रघुवीर महासेठ छन्।

बादल र लेखराज कता?
नेकपाभित्र गुटको लेखाजोखा हुँदा पूर्वमाओवादी धारका दुई नेताहरु रामबहादुर थापा बादल र लेखराज भट्टको विषय चर्चामा आउँछन्।

सचिवालय सदस्यसमेत रहेका बादल ओली सरकारका गृहमन्त्री पनि हुन्। उनी पार्टीका विषयमा आफ्ना धारणा हत्तपत्त राख्दैनन्। सचिवालयको बैठकमा पनि खासै बोल्दैनन्। त्यसैले उनी कुन पक्षका नेता हुन् भन्ने नेकपामा अन्याेल छ। उनलाई विवादको नेतृत्व गरेका दुवै समूहले आफ्नो पनि ठान्दैनन्, अर्को समूहको पनि ठान्दैनन्।

तर, विवाद साह्रै उत्कर्षमा पुग्यो भने उनी प्रचण्ड-नेपाल समूहमा आउने आँकलन सो समूहको छ।

भट्टलाई भने पछिल्लो समय ओली निकट ठानिन्छन्। उनले प्रचण्डसँग चित्त दुखाएको र सो समूहसँग कुनै सम्बन्ध र सम्पर्कमा नरहने गरेका कारण उनलाई ओली समूहमा पुगिसकेको विश्लेषण गरिन्छ।:nepallive

शीर्ष समाचार

धेरै पढिएको