October 27, 2024, Sunday
KN hd tv

चिनियाँ रक्षामन्त्रीको ५ घन्टे नेपाल तालिका

काठमाडौ–ंकोभिड–१९ महामारीपछि पहिलो चिनियाँ उच्च नेतृत्वको भ्रमण नेपालमा भएको छ। चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेइ फेङ्हे औपचारिक भ्रमणका क्रममा काठमाडौं आइपुगेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले स्वागत गरे। 

चिनियाँ रक्षामन्त्री वेइ नेपालमा  करिब ५ घण्टा रहनेछन्। नेपालबाटै उनी बंगलादेश जानेछन्। छोटो अवधिका लागि नेपाल आएका उनले सबैभन्दा बढी समय २ घण्टा २० मिनेट जंगी अड्डामा बिताउने छन्।

सबैभन्दा पहिले वेईले  प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगी अड्डामा औपचारिक वार्ता गर्ने छन् । उक्त भेटमा दुई देशका बीच सैन्य सहयोगलगायतका विषयमा कुराकानी हुने छ। उनलाई नेपाली सेनाले सम्मान दिने छ। प्रधानसेनापतिसँगको भेटलगत्तै उनले दिउँसाे २ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेट्ने कार्यक्रम छ। त्यसलगत्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने छन् । नेपालको यो भेटघाट सकेपछि उनी बंगलादेश प्रस्थान गर्नेछन्। 

चिनियाँ रक्षामन्त्रीसँग २० सदस्यीय टोली रहेकाे छ। गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणपछि चीनबाट पहिलोपटक मन्त्रीस्तरीय भ्रमण भएको हो। २०७५ मा चीनको औपचारिक भ्रमणका क्रममा उपप्रधानमन्त्री एवं तत्कालीन  रक्षामन्त्री  इश्वर पोखरेलले रक्षामन्त्री वेइसँग द्विपक्षीय वार्ताका क्रममा नेपाल भ्रमणको निम्तो दिएका थिए।  

प्रधानसेनापति थापाले पनि चीन भ्रमणका बेला रक्षामन्त्री वेईसँगको भेटवार्तामा नेपाल भ्रमणको निम्तो स्मरण गराएका थिए ।  उक्त निम्तोलाई स्वीकार गर्दै उनी नेपाल भ्रमणमा आएका हुन् ।  

नेपालमा चीनबाट तीन वर्षपछि रक्षामन्त्रीको भ्रमण भएको हो । तत्कालीन रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चिनियाँ रक्षामन्त्री एवं स्टेट काउन्सिलर जनरल चाङ वाङक्वानले २०७३ चैत १० देखि १२ सम्म नेपालको औपचारिक भ्रमण गरेका थिए । 

कोभिड १९ का कारण चीनबाट जनमुक्ति सेनाका प्रमुख लि जुओचेङको नेपाल भ्रमण  हुने भनिए पनि स्थगित भएको थियो। 

सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलका अनुसार चिनियाँ रक्षामन्त्रीलाई जंगी अड्डामा अपरान्ह साढे १ बजे सेनाको टुकडीले  ‘गार्ड अफ अनर’ अर्पण गर्ने कार्यक्रम छ । 

शीर्ष समाचार

धेरै पढिएको