October 27, 2024, Sunday
KN hd tv

नेकपा विवाद : एक-अर्काविरुद्ध रणनीति बनाउँदै ओली-प्रचण्ड

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आ-आफ्नै रणनीति बनाउन जुटेका छन्।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल आन्तरिक स्वार्थको लडाइँमा केन्द्रित भएपछि पार्टी फुटको संघारमा पुगेको छ। प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच बढेको दूरीले दुर्घटना बढ्ने भन्दै कार्यकर्ताले चिन्ता जनाइरहेका छन्। 

पार्टीभित्र अध्यक्ष दाहाललाई वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले साथ दिएका छन्। सचिवालयको बहुमत सदस्य अध्यक्ष दाहालको पक्षमा रहँदा प्रधानमन्त्री ओली पनि बहुमत पुर्‍याउने कसरतमा छन्।  

तानातानमा वामदेव र बादल 

प्रधानमन्त्री ओलीसँग उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादल छन्। अध्यक्ष दाहाल खेमाका गृहमन्त्री बादल पार्टी एकताको पक्षमा भन्दै ओली कित्तामा पुगेका छन्। उनलाई फर्काउन अध्यक्ष दाहालले प्रयत्न गरिरहेका छन्। 

त्यसो त सचिवालयमा अल्पमतमा परिरहेको बेलामा प्रधानमन्त्री ओलीले पनि उपाध्यक्ष गौतमलाई तान्‍ने प्रयास जारी राखेका छन्। दुवै पक्षसँग नखुलेका गौतमलाई गत साता प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएर छलफल गरेका थिए। तर उनी एकताको पक्ष भन्दै त्यसकै अडानमा छन्।  

उपाध्यक्ष गौतम र गृहमन्त्री थापालाई राष्टपति विद्यादेवी भण्डारीले समेत शीलतनिवासमा बोलाएर पार्टी एकताका पक्षमा भूमिका खेल्न आग्रह गरेकी थिइन्। यसअघिको विवादका पनि अध्यक्ष दाहालको कित्तामा रहेका उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीलाई सघाउ पुग्नेगरी मध्यमार्गी भूमिका निर्वाह गरेपछि विवाद केही हदसम्म साम्य भएको थियो।

पार्टीभित्रको विवाद बढ्दै जाँदा अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय खनाल र नेपाल, उपाध्यक्ष गौतम, प्रवक्ता श्रेष्ठ र गृहमन्त्री बादल एकै ठाउँमा रहेका केन्द्रीय सदस्य ठाकुर गैरेको मत छ।  

‘पार्टीभित्रको विवादको विषयमा अध्यक्ष दाहालसहितको नेताहरु एकै ठाउँमा हुनुहुन्छ’, उनले भने, ‘अब १३ गते प्रधानमन्त्री ओलीको जवाफ आउँछ। त्यो जवाफपछि पार्टीभित्र उठेका सबै विषयमा छलफल हुन्छ।’ 

ओली-प्रचण्ड भेटमा ब्रेक!

विवाद बढेपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच पटक पटक भेटवार्ता हुने गरेको थियो। तर, पछिल्लो समय प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता ठप्प भएको हो। 

लिखित रुपमै आरोप प्रत्यारोपपछि मंसिर ३ गतेको सचिवालय बैठकयता प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको भेट भएको छैन। अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई एक्लै भेटेर समस्या समाधान नहुने निष्कर्षसहित भेटवार्ता नगरेका उनीनिकट नेताहरु बताउँछन्। 

अध्यक्ष दाहालले कात्तिक २८ को सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन ल्याएपछि प्रधानमन्त्री ओलीले मंसिर ३ गतेको बैठकमा त्यसको प्रत्युत्तर  दिन १० दिनको समय माग गरेका छन्। प्रधानमन्त्री ओलीनिकट नेताहरु ईश्वर पोखरेल, विष्णु रिमाल, सुवासचन्द्र नेम्वाङलगायत नेताहरु त्यसको तयारीमा जुटेका छन्। 

यता अध्यक्ष दाहाल पनि प्रधानमन्त्री ओलीको कस्तो जवाफ आउँछ र कसरी बढ्ने भन्नेबारे छलफलमै रहेको नेताहरु बताउँछन्। 

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच दूरी बढेर भेटवार्ता ठप्प भइरहेका अवस्थामा गत शुक्रबार ओलीनिकट महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टी मुख्यालयमा भेटवार्ता गरेका थिए।

त्यसपछि मंगलबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली दाहाल निवास खुमलटारमा भेटवार्ता गर्न पुगेका थिए। भेटवार्ताका क्रममा उनीहरुले परिस्थिति गम्भीर रहे पनि पार्टी एकताका पक्षमा रहेको धारणा सार्वजनिक गरेका थिए। 

आ-आफ्नै अडान

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको विवादले पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको भए पनि दुवै पक्षले आआफ्नै अडान राखिरहेका छन्। अध्यक्ष दाहालसहितका बहुमत सदस्यले सचिवालय बैठक माग गर्दै प्रधानमन्त्रीलाई लेखेको पत्र, ओलीको जवाफी पत्र, फेरि दाहालले लेखेको प्रत्युत्तर र प्रस्ताव सबै समेटेर तल्लो तहसम्म अध्ययनका लागि पठाइसकेका छन्। 

उनीहरु तल्लो तहको प्रतिक्रिया कस्तो प्रतिक्रिया आउँछ र कसरी अघि बढ्दा उपयुक्त हुन्छ भन्‍नेमा केन्द्रित छन्। अध्यक्ष दाहालले सचिवालयमा प्रस्तुत गरेको पत्र फिर्ता गरेर सहमतिको आधारमा साझा प्रस्ताव तयार गर्ने पक्षमा प्रधानमन्त्री ओली छन्। 

तर, अध्यक्ष दाहालले साझा प्रस्ताव ल्याउन नसक्ने अडान लिए पनि त्यसको जवाफ फर्काउने तयारी गरिरहेका छन्। विवादले अर्को मोड लिन सक्ने पनि नेताहरु अड्कलबाजी गरिरहेका छन्। प्रधानमन्त्री ओलीको जवाफ आएपछि मात्रै पार्टीभित्रको विवाद कसरी समाधान गर्ने भन्नेबारे नेतृत्वबीच छलफल हुने अध्यक्ष दाहालनिकट स्थायी कमिटी सदस्य मातृका यादव बताउँछन्। 

‘पार्टीभित्रको विवाद समाधान गरेर बढ्नुपर्छ भन्‍ने हामीले माग गरिरहेका छौँ,’ उनले भने, ‘हामी पार्टी विभाजनको पक्षमा छैनौँ। एकतालाई बढाएर सहमतिमा जानुपर्नेमा हाम्रो जोड हो।’

पार्टीमा परिस्थिति सम्हालिने अपेक्षा

वरिष्ठ नेता नेपाल खेमाका नेकपा विदेश विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य विष्णु रिजाल पार्टीभित्रको विवाद सल्टिने बताउँछन्। अध्यक्ष दाहालले पार्टीभित्रको लिखित पत्रलाई पुस्तक बनाएर तल्लो तहसम्म पठाएपछि ओलीनिकट नेताहरुले जनाएको विरोधको अर्थ नभएको समेत उनले औंल्याएका छन्।  

‘हामीले होइन भने पनि लुकेको केही छैन। नेकपाभित्र चलेको विवाद र उठेका प्रश्नहरूलाई (४ वटै लिखत) एकै ठाउँमा राखेर पढ्दा बुझ्न सजिलो नै हुन्छ’ उनले लेखेका छन्, ‘कहिलेकाहीं खाना पचेन र पेट हुँडलियो भने बान्ता गरेपछि हलुङ्गो हुन्छ। आशा गरौं, पार्टीमा पनि परिस्थिति सम्हालिनेछ। ‘म पदमा रहिँन वा मैले भनेजस्तै भएन वा मैले झुक्नुपरेछ भने पार्टी नै एक रहन दिन्न’ भनेर कुनै पनि नेताले सोच्नु र भन्नु हुने छैन।’

पदमा रहिँन वा मैले भने जस्तै भएन भने पार्टी नै एक रहन भन्नेजस्तो तर्कको कारण पार्टीभित्र समस्या आएको उनको भनाइ छ।

‘प्रधानमन्त्रीले जवाफ दिनुहुन्छ’

प्रधानमन्त्री ओलीविरुद्ध अध्यक्ष दाहालले लगाएको आरोपको जवाफ दिनुपर्ने ओलीनिकट केन्द्रीय सदस्य विशाल भट्टराई बताउँछन्। ‘उहाँले आफूमाथि लागेको आरोपको जवाफ दिनुपर्छ। जवाफ फर्काउनुभएन भने त आरोपको मौन सहमति जनाएजस्तो भइहाल्छ नि,’ उनले भने, ‘उहाँले आफूमाथि लागेको आरोपको आगामी सचिवालयको बैठकमा राख्नुहुन्छ।’ 

शीर्ष नेतृत्वबीचको आरोप प्रत्यारोपले मात्रै पार्टीभित्रको विवाद समाधान नहुने उनको तर्क छ। ‘नेताहरूबीच सवाल जवाफ गरेर मात्रै हुँदैन, सहमतिमा जानुपर्छ’ उनले भने, ‘हामी जहिले पनि आन्तरिक विवादमा अल्झिएर बसेर मात्रै हुँदैन। यो विवादलाई सहमतिको बिन्दुमा पुर्‍याउने पर्छ।’ 

नेतृत्वको झगडाको कारणले तल्लो तहसम्म असर परेको उनी बताउँछन्। ‘नेतृत्वभित्रको विवादले तल्लो तहसम्म तहसम्म असर परेको छ। अब यस्तो गाईजात्रा अन्य गर्नुपर्छ। शीर्ष तहको झगडा पार्टी र जनता र देशको लागि घातक हुन्छ’, उनले भने, ‘नेतृत्वले आफ्नो अहम् त्यागेर एक सहमति बनाएर मुलुकलाई समृद्धिको बाटोमा लान सक्नुपर्छ।’

बहुमत प्राप्त जनमत भएको पार्टीको विवादले पार्टीलाई मात्रै नभएर मुलुकको विकासमा समेत असर परेको उनी बताउँछन्। ‘पार्टीको विवादले देश विकासमा समेत असर परिसकेको छ। अब यो विवाद सधैंका लागि अन्त्य गर्नुपर्छ’, उनले भने। ।thahakhabar

शीर्ष समाचार

धेरै पढिएको