October 27, 2024, Sunday
KN hd tv

नेकपामा संकट चुलिएपछि प्रधानमन्त्रीले गरे देउवासँग छलफल

काठमाडौं–पार्टीभित्र संकट बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्।

प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवालाई शनिबार बालुवाटार डाकेको बताइएको छ। देउवानिकट एक केन्द्रीय सदस्यले देउवा बालुवाटार गएको पुष्टि गरे। पार्टी फुटाएर पनि प्रधानमन्त्री भइरहने प्रयासका लागि ओलीले कांग्रेसको साथ खोजेको देउवा निकट एक नेताले बताए। उनले भने,‘सरकारमा गएर ओलीको नेतृत्व कांग्रेसले स्वीकार्ने/नस्वीकार्ने प्रधानमन्त्रीले बुझ्न खोजेको देखियो।’

ती नेताका अनुसार प्रधानमन्त्री ओलीले आफू निकटकालाई कांग्रेससँग संवाद गर्नसमेत खटाएका छन्। पार्टी विवाद गहिरिएपछि ओली पक्षका र देउवा निकटका नेताहरु प्रत्यक्ष तथा अप्रत्यक्ष संवादमा जुटेको देउवानिकट स्रोतले जानकारी दिएको छ। 

१३ मंसिरमा बोलाइएको सचिवालय बैठकअघि नै भावी दिशा तय गर्न प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलको राय बुझेका हुन्। पार्टी फुटकै विन्दुमा पुगे पनि प्रधानमन्त्रीमा ओलीले सोही पदमा दोहोरिने गरि कांग्रेससँग संवाद अघि बढाएको बताइएको छ। देउवा निकट नेता भन्छन्,‘भोलि पार्टी फुटे पनि सरकारको नेतृत्व गर्न पाए फुटेको दललाई निर्वाचनपछि शक्तिशाली बनाउन सकिन्छ भन्ने प्रधानमन्त्रीमा छ।’

प्रधानमन्त्री ओलीका लागि प्रमुख प्रतिपक्ष हाल आफ्नै दलका नेताहरु बनेका छन्। सत्तासँग भागबण्डामा रमाउने आरोप लागेका देउवा प्रधानमन्त्रीको आश्वासनमा लाग्ने कांग्रेसकै नेताहरुको बुझाइ छ। प्रधानमन्त्रीलाई आफ्नै दलका नेता मिलाउनभन्दा कांग्रेससँग मिल्न सहज लागेर देउवालाई बोलाइएको हुनसक्ने संस्थापन इतर नेताको भनाइ छ। उनले भने,‘देउवाको ध्यान प्रचण्ड–माधवतिर छैन। पूर्ण रुपमा प्रधानमन्त्रीतिरै इन्गेज छन्।’

संविधानका उपलब्धिसँग इमान्दार नभएको आरोपसमेत ओली र देउवा दुवैलाई लाग्ने गरेको छ। नीतिगत र ‘इस्यु’का लागि संविधानप्रति इमान्दार नभएको देउवा माथि आरोप लाग्ने गरेको छ। कांग्रेसकै एक नेता भन्छन्,‘देउवालाई सत्ता चाहिरहन्छ। पार्टी फुटे पनि ओली सत्तामा रहिरहन चाहन्छन्। त्यसैले यी दुवैको सेन्टिमेन्ट मिल्न पुगेको हो।’nepallive

शीर्ष समाचार

धेरै पढिएको