July 27, 2024, Saturday
KN hd tv

फिल्म क्षेत्रलाई उठाउन महासंघको साथ छ : आकाश अधिकारी

निर्देशक तथा कलाकार आकाश अधिकारीले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । दुई दशकभन्दा लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय उनले बरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालको प्यानलबाट उम्मेदवारी घोषणा गरेका हुन् । ११ र १२ मंसिरमा महासंघको वार्षिक साधारणसभा र निर्वाचन हुँदैछ ।  

२०७३ सालको महासंघको निर्वाचनमा आकाश अधिकारी बस्तुगततर्फ केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए । यसपटक पनि उनले चलचित्र क्षेत्रबाट प्रतिनिधित्व गर्दै बस्तुगततर्फ केन्द्रिय सदस्यमा उम्मेदवारी दिन लागेका हुन् । आफूले महासंघको चार वर्षे कार्यकालमा धेरै सिक्ने मौका पाएको र नेपाली फिल्म इन्डस्ट्री र उद्योग-व्यवसायलाई मिलाउने ब्रिजको काम गरेको उनले बताए । बुधवार फिल्मीखबरसँगको एक भेटमा उनले भने- ‘यसअघि फिल्म क्षेत्र सेवामुलक उद्योग मात्र थियो । म वाणिज्य महासंघमा निर्वाचित भएर गएपछि फिल्म क्षेत्र र महासंघको साथले फिल्म क्षेत्र राष्ट्रिय मान्यता प्राप्त उद्योगमा आयो ।

तर जबसम्म नीति, नियम र कानुन लेखिँदैन तबसम्म फिल्म क्षेत्रले त्यसको फाइदा लिन सक्दैन । यसैका लागि म फेरि महासंघ जान लागेको हुँ ।’ चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका उनले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनका लागि पनि आफूले महासंघको केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेको बताए । होटल, पर्यटन, कृषिमा पनि आफूले काम गर्ने उनी बताउँछन् । गएको चार वर्षे कार्यकालमा उद्योग वाणिज्य महासंघ र उद्योगी-व्यवसायीले फिल्म क्षेत्रलाई हेर्ने नजर निकै राम्रो पाएको उनको अनुभव छ ।  नेपालमा बक्सअफिस कार्यान्वयन हुन सकेको खण्डमा उद्योगी-व्यवसायीहरु फिल्म क्षेत्रमा लगानी गर्न इच्छुक रहेको पनि उनले बताए । ‘कला, संस्कृति, सभ्यतालाई बचाइराख्ने भनेको फिल्म क्षेत्र हो ।

हिजो के थियो भनेर पछाडि फर्केर हेर्ने हो भने फिल्म नै हो । त्यसैले श्रव्य दृश्य, फिल्मले नै कला, संस्कृति र पहिचानलाई बचाइराख्छ । यसलाई उठाउनु पर्छ भन्नेमा सिंगो महासंघ छ ।’ उनले नेपाली फिल्म अन्तर्राष्ट्रिय स्तरको बनाउन र अन्तर्राष्ट्रिय स्तरमा नेपाली फिल्म पुर्‍याउनका लागि पनि आफूले महासंघबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । महासंघको फिल्म एन्ड इन्टरटेन्मेन्ट फोरमका सभापति समेत रहेका निर्माता अधिकारी यसपटक पनि अत्याधिक मतका साथ विजयी हुनेमा विश्वस्त छन् । यसअघि ५६ भोट प्राप्त गर्दै उनी केन्द्रिय सदस्यमा विजयी भएका थिए ।‘काठमाण्डू, पन्छी, दाग, क्रोध, कान्छी, के म तिम्रो होइन र ?, कोहिनूर’ लगायतका फिल्म निर्देशन गरिसकेका उनी स्थिति सामान्य भएपछि नयाँ फिल्म निर्माण गर्ने तयारीमा छन् ।

‘काठमाण्डू, पन्छी, जनयुद्ध, क्रोध’ लगायतका फिल्ममा मुख्य भूमिकामा अभिनय समेत गरेका उनले पछिल्लो पटक फिल्म ‘कान्छी’ निर्देशन गरेका थिए । आकाश रेड स्टुडियोका सञ्चालक समेत हुन् । filmykhabar

शीर्ष समाचार

धेरै पढिएको