October 27, 2024, Sunday
KN hd tv

‘कोरोना जित्न मानसिक रुपमा तन्दुरुस्त हुनुपर्छ’: ऋचा

गएको तीन हप्ता अगाडि अभिनेत्री ऋचा शर्मालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । तीन दिन लगातार असह्य टाउको दुखेपछि पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना संक्रमण देखिएको थियो । कोरोना पुष्टि भएपछि उनी झण्डै २२ दिन होम आइसोलेसनमा बसिन् । तीन हप्ता लामो होम आइसोलेसनपछि कोरोनालाई जितेकी उनी अहिले पूर्ण रुपमा स्वस्थ छिन् ।तीन हप्ताको लडाईंपछि कोरोनालाई जित्न सफल भएकी ऋचाले आफ्नो कोरोना अनुभव साटेकी छन् । आफ्नो नाममा खोलको यूट्युब च्यानलमा एक भिडियो अपलोड गर्दै उनले आइसोलेसनको क्रममा कोरोनालाई जित्न आफूले गरेका क्रियाकलाप प्रशंसकमाझ शेयर गरेकी छन् ।

स्वास्थ्य सुरक्षाका सामाग्री अपनाउँदा अपनाउँदै आफूलाई कोरोना सरेको उनले बताएकी छन् । ‘लकडाउन भएदेखि काम विशेषले घरबाहिर जाँदा सधैं मास्क प्रयोग गरेको थिएँ । सधैं सेलिटाइनर लगाउथेँ । हात पनि पटक पटक धोइरहेको हुन्थेँ । यति सावधानी अपनाउँदा अपनाउँदै पनि मलाई कोरोना लाग्यो । मलाई कसरी कोरोना लाग्यो भनेर मैले सोच्न पनि सकेको छैन । मास्क, सेनिटाइजर लगाउँदा लगाउँदै पनि कोरोना लाग्दा चाहिँ अचम्म लागेको छ’, उनले भनेकी छन् । कोरोना संक्रमण पुष्टि भएपछि आफूलाई मानसिक रुपमा तनाब भएको उनी बताउँँछिन् । कोरोनाको औषधी नबनेकाले कसरी यो संक्रमणबाट मुक्त हुने भनेर आफू चिन्तित भएको उनको कथन छ । उनी भन्छिन्, ‘कोरोना जित्न शारीरिक र मानसिक रुपमा तन्दुरुस्त हुन जरुरी छ । कतिपयले कोरोना लागेपछि अब सकियो भनेर सोच्ने गर्दछन् । यसरी आत्मविश्वास कम गर्नु हुँँदैन ।’  आइसोलेसनमा बसेपछि उनले हरेक दिन दुईपटक बाफ लिने, हट वाटर ब्यागमा तातो पानी हालेर पेटमा राख्ने, नुन पानी प्रयोग गर्ने गरेकी रहेछिन् ।

कोरोना पुष्टि भएपछि चिकित्सकको सल्लाह अनुसार आफूले कोडोपार र जिंक औषधी सेवन गरेको उनले बताइन् । आइसोलेसनको समयमा दिमागलाई धेरैतिर डुलाउन नहुने र उच्च आत्मबलले कोरोना जितिने उनको अनुभव छ । अभिनेत्री ऋचा शर्मा भन्छिन्, ‘आइसोलेसनको समयमा दिमागलाई धेरैतिर डुलाउनु हुँदैन । मैले चाहिँ आइसोलेसनको समयमा कमेडी फिल्म धेरै हेरेँ । कति झुर फिल्म पनि हेरेँ । तर, त्यसले मलाई दिमागलाई यताउति जान दिएन । अहिले म एकदमै स्वस्थ छु ।’ कोरोनाको लक्षणको रुपमा भने उनलाई असह्य टाउको दुखेको थियो । उनको गन्ध क्षमतामा पनि ह्रास आएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको