October 27, 2024, Sunday
KN hd tv

मुख्यमन्त्री पोखरेल भने- सचिवालयका कमरेडहरु विवाद र कटुता विर्सेर एकता बाटोतर्फ फर्कनु होस्

काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विवाद र कटुता बिर्सेर एकताको बाटोमा हिँड्न सचिवालय सदस्यहरुलाई सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री पोखरेलले स्थायी समितिको वैठकका निर्णय इमान्दारिताका साथ पालना गर्दै एकता महाधिवेशनको तयारीमा जुट्न सचिवालयका सदस्यहरुलाई अनुरोध गरेका छन् ।

‘त्यसैले सचिवालयका कमरेडहरु विवाद र कटुता विर्सेर एकतावाटो तर्फ फर्कनु होस् । आम पार्टी पंक्तिको चाहना एकतावद्ध, गतिशील र अनुशासित पार्टी नै हो । सचिवालयको कर्तव्य स्थायी समितिको निर्णयको कार्यान्वयन हो’, उनले भनेका छन्, ‘तसर्थ स्थायी समितिको वैठकका निर्णय इमान्दारिताका साथ पालना गर्दै एकता महाधिवेशनको तयारीमा जुट्न म सचिवालयका सम्पूर्ण कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु ।’

प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिएका मुख्यमन्त्री पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सबै नेताहरु एउटै डुंगामा रहेको कुरा हेक्का राख्न आग्रह गरेका छन् ।

‘हामी एउटै डुंगामा छौ भन्ने हेक्का राख्ने र एक अर्कोको संवेनशीलतालाई ख्याल गर्ने हो भने पार्टीलाई एकतावद्ध राख्ने शुत्र एकताको दस्तावेज र स्थायी समितिको पछिल्लो वैठकका निर्णयमै निहित छ’, उनले भनेका छन् ।

मुख्यमन्त्री पोखरेलले एकता महाधिवेशनमा प्रवेश नै नगरी सहमति भन्दा वाहिरवाट जित्ने कोशिस एकताविरुद्धको खेल सावित हुने चेतावनी दिएका छन् ।

उनले भनेका छन्, ‘एकताको मर्म र भावना विपरितको खेलले कसैलाई जित्न दिदैन । एकता महाधिवेशनमा प्रवेश नै नगरी सहमती भन्दा वाहिरवाट जित्ने कोशिस एकता विरुद्धको खेल सावित हुनेछ ।’

शुक्रबार र शनिबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहिच पाँच जना सचिवालय सदस्यहरुको अनौपचारिक भेला बसेको थियो । उक्त भेलामा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए । उक्त भेलालाई लक्षित गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।

भेलापछि पाँच जना सचिवालय सदस्यहरुले बैठकको माग गर्दै प्रधानमन्त्री अ‍ोलीलाई लिखित पत्र बुझाएका थिए । गोप्य भेला बस्दै आफूलाई घेराबन्दीमा पारेको भन्दै प्रधानमन्त्रीले बैठक बोलाउन आनाकानी गर्दै आएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको