October 27, 2024, Sunday
KN hd tv

मेरा परमेश्वर–परमात्मा प्रचण्ड र ओली !

जनता–जनार्दनको पवित्र मतलाई अनादर गर्ने अनैतिक दुस्साहस र दुर्व्यवहार मबाट हुनै सक्तैन । कालान्तरमा खड्गप्रसादजी के.पी. मा अनि पुष्पकमलजी प्रचण्डमा रूपान्तरित भएका छन् । शोषितहरूले शोषकको आरोप पाएका छन् । यिनीहरूले बच्चा बग्रेल्ती जन्माए । तिनलाई बस्ने सुविधासम्पन्न जाल पनि रचना गरे । यी बिचरा माकुराहरूले जाल बनाउन, बच्चा जन्माउन र तिनलाई हुर्काउन कति परिश्रम गरे होला ?  कति हण्डर र ठक्कर खाए होला ? आज तिनै बच्चाहरूले निर्मम छापामारको शैलीमा झापाका माऊ र चितवनका बाउ दुइटैलाई कोपर्दै छन् । म पर बसेर रमिता हेर्दै छु ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई आदर्श मान्ने मेरो पार्टी पाटीमा परिणत भयो । मैले त्यस पार्टीको क्रियाशील सदस्यता परित्याग गरिसकेँ । मेरा शुभ चिन्तकहरूलाई पनि लाग्यो होला—अब त्यो गाउँले बलदेव अर्कै दलमा प्रवेश गर्दै छ । मैले प्रवेश गर्न लागेको दलको नाम अन्तर्लौकिक लोकतान्त्रिक साम्यवादी दल हो ।

  म पाताललोकदेखि गोलोकसम्मको सार्वभौम अधिकारले सम्पन्न राष्ट्रियताको पक्षमा छु । म यस्तो देशमा छु,  जुन देशमा कुनै सिमाना छैन र पर्खाल पनि देखिँदैन । म आफ्नै कर्मका माध्यमले आफ्नो लोक रोज्न पाउँछु । पूर्वराजा ज्ञानेन्द्र मलाई मेची–महाकालीमा सीमित गर्न खोज्छन् । मैले राजाको राष्ट्रवाद सनातन वैदिक धर्मसँग जोडिएको छ भन्ने सुनेको छु । तर तिनले सनातन वैदिक धर्मका कति कुरा बुझेका छन्, त्यो चाहिँ बुझेको छैन । धर्मका नाममा राजनीति गर्नेहरूले धर्म बुझ्न पनि नपर्ने र मान्नु पनि नपर्ने नयाँ परम्परा तिनले पनि धानेकै होलान् ।

भौतिकवादीहरूले साम्यवाद ल्याउँछन् भन्नु र आधुनिक पुरोहितहरूले स्वर्गमा टेकाउँछन् भन्ठान्नु उस्तै–उस्तै दिवास्वप्न हो । यस्तै सपना देखेर साम्यवादी राजनीतिमा होमिएका न्यायप्रेमी युवा खड्गप्रसाद ओली र उनका समकक्षी प्रचण्डको लक्ष्यप्रति साधुवाद भन्छु । ओलीजीका समकक्षी अध्यक्ष प्रचण्डको अतीतलाई पनि म सम्मान गर्छु । संयोगवश उनीहरू दुवै जनाका पिताहरूसँग मैले साक्षात्कार गरेको छु । माधव नेपाल र भीम रावलका परिवारसँगै परिचित छु । तथापि  म हिजो पनि कम्युनिष्ट हुन सकिनँ । आज पनि कम्युनिष्ट होइनँ र भोलि पनि कम्युनिष्ट हुन्नँ । तर भौतिकवादको पछि लागेर साम्यवादको फल चाख्ने आशाले मरुभूमिमा भौँतारिएका तिर्खालुहरूप्रति अत्यन्त दया जाग्न थालेको छ । किनभने म पनि स्वभावतः साम्यवादी हुँ तर कम्युनिष्ट होइनँ । किनभने कम्युनिष्टहरू जे बोल्छन् त्यसको विपरीत गर्छन् ।

म आफ्नो भाग्य र भविष्य आफैँले रोज्न पाइने अपरिवर्तनीय वैदिक सनातन संविधान–अनुसारको लोकतन्त्रवादी हुँ । मेरो लोकतन्त्रमा रामराज्य हुन्छ । मेरा आदर्श शासक एकजना अचेत नागरिकको आलोचना सुनेर एकल जीवन व्यतीत गर्न तत्पर हुन्छन् । सुग्रीव बाँदरसँग मीत लाउँछन् तर लज्जाबोध गर्दैनन् । जटायु गिद्धका धर्मपुत्र भएर अन्त्येष्टि संस्कार सम्पन्न गर्छन् परन्तु हीनताभासमा पर्दैनन् । बिचरा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र शशाङ्क कोइरालाहरू तिनका गुरु गिरिजा बाबुले पढाएको पाठ पढिसकेर प्रयोगशालामा उङिरहेका होलान् । तिनीहरू संगठन र कमारा–कमारीहरूको बलमा सिंहदरबारका सिंह बन्न चाहन्छन् । बिचराहरू मूसो भइसके त्यसैले ढोकाबाट नभएर भित्ताबाटै सिंहदरबारको सत्तामा प्रवेश गर्ने दाउमा होलान् ।

 मेरो साम्यवादमा संसारका सबै प्राणी परमात्मा भगवान् श्रीकृष्णका समकक्षी हुन् । म भगवान् श्रीकृष्णको भक्ति गर्छु । श्रीकृष्ण मेरो भक्ति गर्छन् । भक्ति–प्रतियोगितामा म सर्वज्ञ, सर्वशक्तिमान् र सर्वव्यापी पावन श्रीकृष्णको पाउ रोज्छु । श्रीकृष्ण चाहिँ मजस्तो अल्पज्ञ, अशक्त र एकस्थानी पतित भक्तको पाइतालाकै धूलो खान खोज्छन् । म भक्त बन्न चाहन्छु तर श्रीकृष्ण मलाई नै भगवान् बनाएर पूजा गर्न चाहन्छन् । श्री ५ बडामहारानी राधा भगवतीको अखण्ड साम्यवादी शासनमा सह–अस्तित्वपूर्ण प्रेमबाहेक अरू केही पाइँदैन । यो वैज्ञानिक प्रणालीमा भेद र घृणाको छाया पनि देख्नुपर्दैन ।

भौतिक साम्यवादी व्यवस्थामा जम्मा दुईजना अध्यक्ष छन् । हाम्रो आध्यात्मिक साम्यवादी शासनमा सबै अध्यक्ष र सबै कार्यकर्ता । सर्वसत्तावादी श्रीकृष्ण कनिके सुदामा र कुँजी कुब्जाका अधीनमा छन् । उनी अनन्य भक्तका दास हुन्, भरिया हुन् र द्रौपदीका त फरिया पनि हुन् । 

मेरो अन्तर्लौकिक लोकतान्त्रिक साम्यवादी दलप्रति खड्गप्रसाद ओली र उनका आसेपासेहरू खिसी व्यक्त गर्छन् भने गरिरहून् । म उनीहरूको आस्थाप्रति आलोचना पटक्कै गर्दिनँ । बरु अगाध सम्मान गर्छु ।

 आलोचकहरू भन्छन्—खड्गप्रसाद ओलीले तथाकथित इसाईको होलिवाइन खाए । तर पशुपतिनाथको मन्दिरतिर पाइला लाएनन् ।

म पशुपतिनाथको मन्दिर र जिसस क्राइष्टको चर्चमा भेद देख्दिनँ । किनभने मेरो वैदिक सनातन–संविधानको भागवत– धाराले कसैप्रति पनि भेदभाव गर्ने अनुमति दिँदैन ।

सामाजिक शोषण, अन्याय, अत्याचार र भ्रष्टाचारको विरोध गर्दै राजनीतिमा प्रवेश गरेका खड्गप्रसाद ओली, पुष्पकमल दाहाल र तिनका सहकर्मीको लक्ष्यसँग हिजो मेरो पनि सहमति थियो । आज पनि छ र भोलि त अझै प्रबल हुनेछ । सद्गुरुको कृपावश मेरो परमात्मपरक आध्यात्मिक आस्था कदापि डगमगाउने छैन ।

उपर्युक्त दुवै जना वास्तवमै शोषित र पीडित जनताका सुपुत्र हुन् । यथार्थमै भावुक र दयालु पनि थिए । न्याय र समानताका पक्षधरहरूसँग मुरलीधरका भक्तहरूको भावनात्मक एकता हुन्छ । यसकारण आज म उनीहरूप्रति हृदयतः सहानुभूति प्रकट गर्न उभिएको हुँ । म, मेरा सम्पूर्ण आफन्तजन र मेरो स्वतन्त्र एवं अविभाजित देशको भाग्य अनि भविष्यसमेत उनीहरूकै जिम्मामा छ । जनता–जनार्दनको पवित्र मतलाई अनादर गर्ने अनैतिक दुस्साहस र दुर्व्यवहार मबाट हुनै सक्तैन । कालान्तरमा खड्गप्रसादजी के.पी. मा अनि पुष्पकमलजी प्रचण्डमा रूपान्तरित भएका छन् । शोषितहरूले शोषकको आरोप पाएका छन् । यिनीहरूले बच्चा बग्रेल्ती जन्माए । तिनलाई बस्ने सुविधासम्पन्न जाल पनि रचना गरे । यी बिचरा माकुराहरूले जाल बनाउन, बच्चा जन्माउन र तिनलाई हुर्काउन कति परिश्रम गरे होला ?  कति हण्डर र ठक्कर खाए होला ? आज तिनै बच्चाहरूले निर्मम छापामारको शैलीमा झापाका माऊ र चितवनका बाउ दुइटैलाई कोपर्दै छन् । म पर बसेर रमिता हेर्दै छु । मलाई थाहा छैन—यी दुई माकुरा परेको जालमा मेरो पनि काल लुकेर बसिरहेको छ । नराणां च नराधिपः । जोसुकै शासक होऊन् तिनीहरू मेरै परमात्माका प्रत्यक्ष प्रतिमूर्ति हुन् ।

 यसकारण म बबुराहरूप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै छाती पिट्छु र सोध्छु—

हे परमात्मा श्रीकृष्ण ! तिमीले नयाँ अवतार कहिले र कस्तो देखाउँदै छौ?

शीर्ष समाचार

धेरै पढिएको