July 27, 2024, Saturday
KN hd tv

लुम्बिनी प्रदेशका १२ वटा जिल्लामध्य सबैभन्दा बढी बालविवाह प्युठानमा

दाङ – लुम्बिनी प्रदेशका १२ वटा जिल्लामध्य सबैभन्दा बढी बालविवाह प्युठान हुने गरेको छ। दोस्रो बढी बालविवाह दाङ हुने गरेको तथ्यांकले देखाएको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङको तीन वर्षको तथ्यांकमा  प्युठानमा १९ वटा बालविवाह भएका छन्। सोही अवधिमा दाङमा १३ वटा बालविवाह भएका छन्। तर, नवलपरासी पश्चिम, पाल्पा र रोल्पामा शून्य रहेको छ।

प्युठानमा आर्थिक वर्ष २०७४/७५मा १२ वटा, २०७५/७६ मा ६ वटा र २०७६/७७ मा १ वटा गरी १९ वटा बालविवाह भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। त्यस्तै, दाङमा आर्थिक वर्ष २२०७४/७५मा २ वटा, २०७५/७६ मा ८ वटा र २०७६/७७ मा ३ वटा बालविवाहका घटना भएका छन्।

आर्थिक वर्ष २०७५/७६ मा  रुपन्देही र कपिलवस्तु एउटा एउटा बालविवाह भएका छन्। बाँकेमा आर्थिक वर्ष २०७५/७६ मा ६ वटा, २०७६/७७ मा दुईवटा बालविवाह भएको छ। त्यस्तै बर्दियामा आर्थिक बर्ष २०७६/७७ मा एउटा, गुल्मीमा आर्थिक बर्ष २०७४/७५ मा दुईवटा, अर्घाखाँचीमा तीन वर्षमा तीनवटा र रुकुम पूर्वमा आर्थिक वर्ष २०७४/७५ मा एउटा बालविवाह भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजकुमार बैदवारले जानकारी दिए।

तीन वर्षको अवधिमा बालविवाह गर्नेमा १० देखि १६ वर्ष उमेर समूहका धेरै रहेका छन्। आर्थिक वर्ष २०७४/७५ मा १० देअि १६ वर्ष उमेर समूहका १० वटा,  १६ देखि १८ उम्मेरका पाँचवटा र १८ देखि २० वर्षसम्म उमेरका तीनवटा विवाह भएका छन्। त्यस्तै, आर्थिक बर्ष २०७५/७६ मा १० देखि १६ वर्ष उमेर समूहका १४ वटा, १६ देखि १८ उमेरका आठवटा बालविवाह भएको प्रवक्ता वैदवारले जानकारी दिए। त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा १० देखि १६ वर्ष उमेरका तीनवटा, १६ देखि १८ वर्ष उमेर समूहका ६ वटा रहेका छन्। 

लुम्बिनी प्रदेश प्रहरीले प्रदेशमा बालविवाह विरुद्धको  १५ दिने अभियान शुरु गरेको छ। बाल विवाहलाई निरुत्साहित तथा नियन्त्रण गर्न कात्तिक १४ देखि २८ गतेसम्म अभियान सञ्चालन गरिएको प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले बताएको छ। अभियानअन्तर्गत एक हजार २३१ वटा जनचेतनामुलुक कार्यक्रम गरिने प्रवक्ता वैदवारले जानकारी दिए। त्यसका लागि स्थानीय सरकार र विभिन्न संघ संस्थाहरुसँग समन्वय गरिने समेत उनले बताए। साथै अभियानलाई सफल बनाउन प्रहरी कार्यालय अगाडि, टोल टोल तथा बजार र राजमार्गमा व्यानर तथा प्लेकार्ड राखिने कार्यक्रम रहेको छ।

त्यस्तै, ड्युटीमा खटिएका प्रहरीले नागरिकहरुलाई प्लेकार्ड देखाउने, नागरिकहरुको बढी भिडभाड र हिँड्डुल गर्ने स्थानमा पोष्टर टाँस्ने, गाउँघरमा माइकिङ गर्ने, विभिन्न सञ्चार माध्यामबाट अभियानको जानकारी गराउने लगायतका कार्यक्रम गरिने प्रवक्ता एसएसपी वैदवारले बताए। 

शीर्ष समाचार

धेरै पढिएको