October 27, 2024, Sunday
KN hd tv

दसैं मनाउँदा थप सचेत बनौं

काठमाडौँ – दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढिरहेको छ। संक्रमितको मृत्यु पनि बढिरहेकै छ। संक्रमितलाई अस्पतालको सेवा पाउन कठिन भइरहेको छ। यस्तै बेलामा ठूलो संख्याका नेपालीले मनाउने पर्व दसैं सुरु भएको छ।

यसअघिका दसैंमा पनि चिकित्सकहरुले स्वास्थ्यसँग सम्बन्धित सुझावहरु दिन्थे। विशेषगरी दसैंमा अत्याधिक खाइने मासु र व्यायामरहित दैनिकीले नसर्ने रोग लाग्ने भएकाले सचेत रहन सुझाउँथे। यसपटकको दसैंमा पनि विगतका जस्ता जोखिम यथावत् छन्। र थपिएको छ- कोरोना। त्यसैले यसपटक हामी दोहोरो स्वास्थ्य जोखिममा छौं भन्दा अत्युक्ति हुँदैन।

विगतको जस्तो होसियारी यसपटक अपनाउनु छँदैछ। त्यसका अतिरिक्त कोरोना संक्रमणप्रति पनि होसियारी अपनाउनु जरुरी छ। त्यसका लागि पहिलो त आफूलाई संक्रमण नहोस् भन्नेमै सचेत रहनु जरुरी छ। दोस्रो, केही गरी आफूलाई संक्रमण भइहालेमा आफूबाट अन्यलाई नसरोस् भन्नेमा पनि सजगता अपनाउनुपर्छ।

आफूलाई संक्रमण हुन नदिनका लागि सम्भावित माध्यमसँग आफूलाई अलग राख्ने नै हो। त्यसका लागि सामूहिक रुपमा यात्रा नगर्ने, सामूहिक सहभागितामा कुनै कार्यक्रम आयोजना नगर्ने, भीडभाड हुने कुनै पनि स्थानमा नजाने, किनमेललाई कम गर्ने, अरुले पनि छुने स्थानहरुमा नछुने, अन्यसँग सकेसम्म भेट नगर्ने लगायतका उपाय अपनाउन सकिन्छ। अरुले पनि छोएका कुनै वस्तु छोइसकेपछि साबुन पानीले हात धुने वा गुणस्तरीय स्यानिटाइजर प्रयोग गर्ने उपाय अपनाउन सकिन्छ। आफू बाहेक जो कसैलाई कोरोना संक्रमण छ भन्ने मानेर सजगता अपनाउन सकिन्छ।

दोस्रो, आफू संक्रमित भइसकियो भने आफ्नो स्वास्थ्यप्रति ख्याल राख्ने त छँदैछ। आफ्नो कारणले अरुमा संक्रमण नफैलियोस् भन्नेमा पनि सचेत हुनुपर्छ।

विशेषगरी दसैंजस्ता चाडपर्वमा युवायुवती काठमाडौं उपत्यकाबाट आफ्नो गाउँघर जाने चलन छ। अहिले काठमाडौं कोरोना संक्रमणको उच्च जोखिममा छ। दैनिक देशभर थपिएका कोरोना संक्रमितमध्ये आधाजसो त काठमाडौं उपत्यकाकै हुने गरेका छन्। त्यसैले यहाँबाट बाहिरिने जोकोही पनि संक्रमित भइरहेको हुनसक्छ। अझ सरकारले कोरोना परीक्षणको दायरा घटाएसँगै लक्षणविहीन संक्रमितको संख्या अनुमान नै गर्न सकिन्न। जसले गर्दा उनीहरुको घरमा भएका वृद्ध आमाबाबु वा साना नानीबाबुहरु पनि जोखिममा पर्न सक्छन्।

सरकारले भन्दै आएको  छ- आशिर्वाद बचाऔं। त्यसो भन्नुको  अन्तर्य आशीर्वाद दिने वृद्धवृद्धाहरुलाई कोरोनाबाट बचाऔं हो। वृद्धवृद्धामा कोरोना संक्रमणको जोखिम र संक्रमणपछि मृत्युको जोखिम पनि बढी हुन्छ। त्यसैले उनीहरुलाई संक्रमण भयो भने सधैंसधैं आशीर्वाद दिने प्रियजनहरु गुम्न सक्छन्। उनीहरुलाई संक्रमणबाट जोगाउन सकियो भने उनीहरुबाट प्राप्त गर्न सकिने आशीर्वाद अर्को सालहरुमा पनि लिन सकिन्छ। त्यसैले उनीहरु संक्रमित नहुन् भन्नका लागि संक्रमणको जोखिममा  रहेकाहरुले नै विशेष ध्यान दिनुपर्छ।

दसैंको प्रमुख प्रचलनमध्ये टीका लगाउने र आशीर्वाद लिने पनि एक हो। त्यो पनि वृद्धवृद्धाहरुसँग। अझ कतिपय ठाउँमा त घर वा आफन्तहरु ठूलो संख्यामा वृद्धवृद्धाकहाँ जम्मा भएर टीका लगाउने र आशीर्वाद लिने चलन पनि छ। यसले गर्दा संक्रमणको जोखिम झनै बढ्छ।

समय पहिले जस्तो छैन। त्यसैले हाम्रो दसैं मनाउने तरिका पनि केही फेरबदल हुनु जरुरी छ। आत्मसंयम र जोखिमको बोध गर्न सकियो भने आफू पनि संक्रमणबाट जोगिन सकिन्छ,अरुलाई पनि जोगाउन सकिन्छ। दसैं त फेरि पनि आउँछ, फेरि पनि रमाइलो गर्न सकिन्छ। त्यसका लागि हामी सबै, हाम्रा प्रियजनहरु हामीसँगै रहनु जरुरी हुन्छ। त्यसैले हामी थप सचेत बनौं।nepallive

शीर्ष समाचार

धेरै पढिएको