परदेशीलाई रोकेन महामारी र दशैँले

काठमाडौं– गलामा खादा, भुँइमा पासपोर्ट र झोलाहरु। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा ५, ६ जना युवाहरु निकै निराश मुद्रामा भेटिए। उनीहरुको अनुहारको निराशा मास्कको बाहिरबाटै पनि ठम्याउन सकिन्थ्यो।

‘हाम्रो फ्लाइट क्यान्सिल भएर तनाव छ’, एक जनाले सुनाए।

यात्रु संख्या नपुगेर उडान रद्ध भएका कारण घरबाट बिदाइ भएर निस्किएका उनीहरु अब के गर्ने भन्ने अलमलमा थिए। अर्को उडानको समय टुंगो नलागेसम्म होटलमा बस्ने भन्दै केही समयपछि उनीहरु त्यहाँबाट बस चढेर बाहिरिए।
 
अन्तर्राष्ट्रिय टर्मिनलकै अर्को कुनातिर जनकपुरका जेनरेन साह आफ्नै सुरमा टोलाइरहेका भेटिए। विगत ५ वर्षदेखि कतारस्थित कन्स्ट्रक्सन कम्पनीमा कार्यरत उनी लकडाउन हुनुभन्दा केही दिनअगाडि मात्रै स्वदेश फर्किएका थिए। कम्पनीले १५ दिनको बिदा दिएको थियो। तर उनी लकडाउनका कारण लामो समय नेपालमै रोकिएका थिए। कम्पनीले दसैंकै बेलामा बोलायो।

‘दसैं मनाएर फर्किने सोच थियो। कम्पनीले यही समय बोलायो। नत्र त कसलाई रहर हुन्थ्यो र दसैंको बेलामा नै परदेश जाने?’, उनले सुनाए।

रुपन्देहीका लालबाबु अर्यालले पनि दसैंको बेला, त्यसमाथि कोरोनाको त्रासबीच पनि परदेश जाने हिम्मत कसे।

‘डराएर के गर्नु? आफैँले कमाएर परिवार छोराछोरी पाल्नुपर्छ। हिँडियो दुवई’, विमानस्थलमै भेटिएका उनले भने।

लालबाबु एक्लैले कमाएर ७ जनाको परिवार पाल्नुपर्छ। घर खर्च जोहो गर्नकै लागि उनले परदेशमै वर्षौं पसिना बगाइसकेका छन्। 

‘गएका केही वर्षका दसैंमा पनि म परदेशमै थिएँ। बाध्यताका अगाडि दसैंको रहर पनि सेलाउँदै गयो’, भन्छन्, अब त विस्तारै बानी पो परिसकेछ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा काँधमा झोला भिरेर हातमा पासपोर्ट बोकेकाहरुको झुण्ड देखिनु कुनै नौलो दृश्य होइन। न त बिदाईको हात हल्लाउन आएकाहरुको अश्रुधार नै।

तर यी दृश्यसँग बानी परिसकेको टर्मिनलमा हिजोआज बिदाईको हात हल्लाउनेहरु भेटिँदैनन्। भेटिन्छन् त केबल काँधमा झोला भिरेर हातमा पासपोर्ट बोकेकाहरु।

जो बाध्यताका अगाडि महामारीको त्रास टेक्दै चाडबाडलाई समेत थाति राखेर परदेशको बाटो लम्किरहेका छन्। बाँकी सबै छाडेर उनीलाई परदेशमा पसिना पोखेर रोजिरोटी जोहो गर्नु छ। र पसिनासँग साटेको त्यही थोरै खुसी बोकेर फर्कनु छ।nepallive