July 27, 2024, Saturday
KN hd tv

विभिन्न २४ उद्योग विरुद्ध मुद्दा दर्ता

काठमाण्डाै – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको अनुगमनलाई तिव्रता दिएको छ । चाडबाड नजिक आएकाले टोली गठन गरी खाद्य अनुगमन तथा परीक्षण कार्यलाई थप व्यवस्थित गरिएको हो । विभागका सहप्रवक्ता सन्तोष दाहालले अनुगमनका क्रममा खाद्य ऐन प्रतिकूल देखिएका उत्पादक कम्पनी तथा उद्योग विरुद्ध मुद्दा चलाइएको जानकारी दिनुभयो ।

तत्कालै गुनासो सुन्न तयार पारिएको समुह ‘र्यापिड रेस्पोन्स टिम’ मा विभिन्न २४ उजुरी परेकामा ए क पानी उद्योग अनुमतिबिना सञ्चालन भएको पाइएकाले बन्द गराइएको छ । खाद्य ऐन विपरीत रहेको दुई उद्योगलाई उत्पादन रोक्का गरिएको विभागले जनाएको छ । अन्य २१ उद्योग विरुद्ध भने मुद्दा चलाइएको दाहालले जानकारी दिनुभयो ।
 
उहाँका अनुसार विभाग र मातहतका कार्यालयबाट कुल ३९८ ठाउँका होटल, खाद्य उद्योग, दाना उद्योग खाद्य पसलमा अनुगमन भएको थियो । त्यसमध्ये खाद्य पदार्थ तथा दाना उद्योगको २७८ र खाद्य स्वच्छता सम्बन्धी १५५ गरी ४३३ नमुना सङ्कलन भएको थियो । परीक्षणका क्रममा १४ वटा नमुना प्रतिकूल  देखिएकाले कारबाही गरिएको छ । अन्य अनुसन्धानकै क्रममा रहेको जनाइएको छ । 

विभागअन्तर्गत देशमा २४ डिभिजन कार्यालय र १२ स्थानमा खाद्य आयात/निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रहेको छ । यसअघि कार्यालयले भदौ २८ देखि नै तीन वटा अनुगमन टोली परिचालन गर्दै आएको छ । कोभिड-१९ का कारण पिउने पानी, दूध तथा दानाको अनुगमन गरिएको थियो ।

अहिले भने चाडबाड केन्द्रीत अनुगमन टोली तयार गरी परिचालन गरिएको विभागले जनाएको छ । मातहतका कार्यालयलाई समेत अनुगमनलाई तिव्रता दिन निर्देशन दिइएको छ । यसअघि पानी उद्योगमा ५४ पटक अनुगमन भएको र २५ नमुना सङ्कलन भएको थियो । दुई वटा नमुना प्रतिकूल देखिएकाले कारबाही प्रक्रिया अघि बढेको जनाइएको छ । अन्य नमुना विश्लेषणको क्रममा छ । 

सात दूग्ध उद्योगमा अनुगमन भएकोमा छ वटाको नमुना सङ्कलन भएको छ ।  खाद्य व्यवसायको ३१ ठाउँमा अनुगमन भएकोमा ३४ नमुना सङ्कलन गरिएको र एउटा प्रतिकूल देखिएकाले कारबाही प्रक्रिया सुरु गरिएको विभागले जनाएको छ । 

शीर्ष समाचार

धेरै पढिएको