October 25, 2024, Friday
KN hd tv

चाडपर्व नजिकिएसँगै काठमाण्डौ उपत्यकामा प्रहरीले सक्रियता बढायो

काठमाण्डौ – चाडपर्वलाई लक्षित गरी प्रहरीले सुरक्षा सक्रियता र निगरानी बढाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार सम्भावित जोखिम क्षेत्रको पहिचान गर्दै मातहतका प्रहरी कार्यालयले उच्च निगरानी बढाएको जानकारी दिनुभयो । 

उहाँका अनुसार मुख्यगरी खाद्यवस्तुमा कालोबजारी हुने, अखाद्य वस्तुलाई बिक्रीवितरण गर्ने, मिति सकिएका वस्तुमा नयाँ मिति राखेर बिक्री गर्ने तथा कानुन विपरीतका कार्य गर्न सक्ने भएकाले त्यसतर्फ प्रहरीले निगरानी बढाएको छ । यस्तै चोरी, तस्करी र आपराधिक गतिविधिसमेत हुन सक्नेतर्फ पनि प्रहरीले थप सुरक्षा सतर्कता बढाएको छ । 

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले मातहतका कार्यालय प्रमुखलाई  अवैध गतिविधि नियन्त्रणमा सक्रिय हुन निर्देशन दिइएको जानकारी दिनुभयो । प्रहरीले चाडपर्वलाई लक्षित विशेष सुरक्षा योजना लागू गरेर सुरक्षा चुस्त पार्ने तयारीसमेत थालेको छ ।  सम्भावित जोखिम क्षेत्रमा प्रहरी टोली परिचालन गर्न सुरुआत समेत  गरिएको छ । 

अभियान अन्तर्गत केही दिनअघि प्रहरीले मिति सकिएको चार करोड रुपैयाँ बराबरको खाद्यवस्तुमा नयाँ मिति राखेर बिक्री गर्न खोज्ने सात जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यही असोज १८ गते काठमाण्डौ महानगरपालिका १४ कलङ्कीकाे प्रविणकुमार बन्कासहितका व्यक्तिले सञ्चालन गरेको एएसटी कम्पनीमा मिति सकिएको खाद्य सामग्रीमा नयाँ मिति टाँसेर बजार लैजाने तयारी गर्दैगर्दा सात जनालाई पक्राउ गरिएको थियो । 

उनीहरुलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा कारबाहीका लागि पठाइएको छ । त्यसको दुई दिनअघि पनि यस्तै गतिविधिमा संलग्न रहेका व्यक्तिहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले बताउनुभयो ।rss

शीर्ष समाचार

धेरै पढिएको