July 27, 2024, Saturday
KN hd tv

डाक्टर केसीले राख्नुभएका मागहरु जायज छन्: प्रवक्ता शर्मा

काठमाण्डाै – नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीले राख्नुभएका मागहरु जायज भएको भन्दै ऐक्यबद्धता जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डा. केसीको मागहरुमा समर्थन जनाउँदै कांग्रेसले औपचारिक रुपमा विज्ञप्ति निकालिसकेकाे बताउनुभयो । यद्यपि केन्द्रीय कार्यसमितिको बैठकबाटै थप निर्णय गरी ऐक्यबद्धता जनाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

तर कोरोना भाइरस सङ्क्रमणकाे जोखिमका कारण सोमबार बस्ने भनिएकाे केन्द्रीय कार्य समितिको बैठक बस्ने/नबस्ने सम्बन्धमा आइतबार नै पार्टीले निर्णय गर्ने पनि उहाँले बताउनुभयो । कार्यसमिति बस्नुअघि आइतबारका लागि बोलाइएको पदाधिकारी बैठक भने स्थगित भइसकेको उहाँले बताउनुभयो । केन्द्रीय कार्यसमिति बैठक बस्ने/नबस्ने सम्बन्धमा सबै कार्यसमिति सदस्य र सचिवालय सदस्यहरुको पीसीआर परीक्षणको रिपोर्ट आएपछि मात्रै निर्णय हुने उहाँले जानकारी दिनुभयाे ।

डा. गोविन्द केसीले विगतदेखि नै जायज माग राख्दै आउनुभएको र कांग्रेस नेतृत्वको सरकारका पालामा भएका सम्झौता कार्यान्वयन भए अधिकांश मागहरु पूरा हुने पनि उहाँले बताउनुभयो । पछिल्लो समय पीसीआर परीक्षण बढाउने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सन्दर्भमा नयाँ जायज माग राख्नुभएकाले सरकारले तत्काल वार्ता गरी सुनुवाइ गर्नुपर्ने उहाँको भनाइ छ । 

संसद्को विशेष अधिवेशन बोलाउने सन्दर्भमा कांग्रेसले औपचारिक निर्णय गरिनसकेको प्रवक्ता शर्माले बताउनुभयो । यद्यपि जनजीवन चलिरहेको अवस्थामा भौतिक दुरी कायम राखेर संसद् अधिवेशन चलाउनुपर्ने उहाँले बताउनुभयो ।

विदेशबाट नेपालीहरु फर्कन नपाएको अवस्था, चाडपर्वमा बजारमा हुने महँगी, अस्पतालमा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थालगायतका विषयमा सरकारले संसद् अधिवेशन बोलाएर नागरिकका कुरा राख्न मार्गनिर्देशन गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।

शीर्ष समाचार

धेरै पढिएको