July 26, 2024, Friday
KN hd tv

धनगढीमा सुपथ मूल्य पसल सञ्चालनमा

धनगढी – साल्ट ट्रेडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीले चाडपर्वलाई लक्षित गरी धनगढीमा बिहीबारबाट मङ्सिर ६ गतेसम्मका लागि सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।

उपभोक्तालाई राहत उपलब्ध गराउने उद्देश्यले दशँै तिहारलगायतका पर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीका नायब महाप्रबन्धक केशवप्रसाद पाण्डेले जानकारी दिनुभयो । सुपथ मूल्य पसलबाट चिनी, नुन, चामल, साबुन र स्यानिटाइजरलगायतका सामग्री बिक्री गरिने नायब महाप्रबन्धक पाण्डेले बताउनुभयो । “पसलमा चिनी प्रतिकिलो रु ७० र नुन प्रतिकिलो रु १८ मूल्य निर्धारण गरेका छौँ”, उहाँले भन्नुभयो, बाहिरको दरभन्दा चिनी प्रतिकिलोमा रु १० र नुन प्रतिकिलोमा रु दुई छुट गरिएको छ ।” त्यसैगरी साबुन एउटाको रु पाँच र स्यानिटाइजरमा रु १० छुट गरिएको बताइएको छ ।

सुपथ मूल्य पसलबाट उपभोक्ताले प्रतिव्यक्ति चार किलोसम्म खरिद गर्न पाइने व्यवस्था रहेको छ । चामल भने खाद्य संस्थानले राख्ने भनिएको छ । “साल्ट टे«डिङको अहिले सबै कारोवार अनलाइन विलिङ सिस्टम छ तर पहाडी क्षेत्रमा उक्त सिस्टम नभएकाले अहिले खोल्न सकिने अवस्था छैन”, नायब महाप्रबन्धक पाण्डेले भन्नुभयो, “विगतमा जबसम्म अनलाइन विलिङ सिस्टम थिएन त्यो बेलामा कैलालीको टीकापुर, कञ्चनपुरको बेलौरी, महेन्द्रनगर र पहाडी जिल्लामा बैतडी, डडेल्धुरा, दीपायललगायतका स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइएको थियो र अहिले अनलाइन बिलिङ भएपछि अन्य स्थानमा रोकिएको छ ।”

स्थानीय निकायले साल्ट ट्रेडिङसँग समन्वय गरेर सुपथ मूल्य पसल राख्न चाहेमा कर्पोरेसन सामान उपलब्ध गराउन तयार रहेको पाण्डेको भनाइ थियो ।

शीर्ष समाचार

धेरै पढिएको