October 25, 2024, Friday
KN hd tv

कोरोनाको बहानामा मानवीयता नगुमाउन घरभेटीहरुलाई सरकारको आग्रह

काठमाडौं – सरकारले डेरावाललाई बस्‍न नदिएर मानवीयता नगुमाउन घरभेटीहरुलाई आग्रह गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले बाहिरबाट आउने तथा काममा जानेलाई पिसिआर गर्नै पर्छ भनेर दबाब नदिन आग्रह गरेका छन्।  ‘काठमाडौंमा बाहिरबाट आउने र काममा जानेलाई पिसिआर परीक्षण गर्न घरभेटीले बाध्य बनाएको खबर आइरहेको छ। घरमा छिर्न नदिएका जस्ता अमानवीय कुरा सुनिरहेका छौं’, उनले भने, ‘राभतर परीक्षणको पर्खाइमा बसेको कुरा दु:ख लाग्‍दो छ।

कोठा छिर्न दिन पिसिआर रिपोर्ट खोज्‍ने, काम गर्न जाँदा पनि पिसिआर गर्न भनेको कुरा एकदमै गलत भएको छ।’ गौतमले राति राति झरीमा रुझ्दै पिसिआर परीक्षणका लागि नबस्‍न पनि अपिल गरेका छन्। ‘राति राति झरीमा रूझ्दै परीक्षणको पर्खाइमा नबस्‍नु होला। सार्वजनिक यातायात चढेर कुनै ल्याबमा जचाउन जाँदा र लाइनमा बस्‍न जाँद संक्रमण सर्ने सम्भावना उच्च रहन्छ’, गौतमले भने, ‘सबैजनासँग निजी ल्याबमा परीक्षण गर्ने शुल्क नहुन सक्छ। टेकु ल्याबमा मात्रै परीक्षण गर्न भिड नगर्नुहोला। टेकुबाहेक वीर अस्पताल, पाटन अस्पताल र शिक्षण अस्पतालमा पनि निशुल्क जाँच गर्न पाइन्छ।’ गौतमले कोरोना परीक्षणका लागि सरकारले तोकेको दायरामा पर्नुपर्ने पनि बताएका छन्। ‘नेपाल सरकारले बनाएको मापदण्डको दायरामा पर्नु भयो भने बिनाशुल्क परीक्षण गर्न पाइन्छ।

बुझेर मात्रै ल्याब परीक्षण गर्न जानु, अनावश्यक दु:ख पाउने काम नगर्नू’, उनले अगाडि भने, ‘घरभेटीसहित सबैमा आग्रह, यो संकटमा मानवता गुमाउन हुन्‍न।’ उनले कोठामा भाडा तिरेर हरेक मानिसलाई परिवारको सदस्यको व्यवहार गर्न पनि अपिल गरेका छन्। ‘कोठामा बस्‍ने हरेक मानिस परिवारका सदस्य हुन्। सधैँ पैसा तिरेर घरको गुजारा चलाइदिने डेरावाललाई अपमान नगरौं’, उनले भने, ‘कसैले पनि बाहिरबाट आएको या संक्रमितको सम्पर्कमा पुगेको पाँच दिन नपुगी पिसिआर गर्न बाध्य नपार्नु।’ गौतमले लामो यात्रबाट आएको भए दुई हप्तासम्म घरमा एक्लै बस्‍ने वातावरण बनाइदिन पनि अपिल गरेका छन्।

‘लामो यात्रा गरेर आएपछि दुई हप्तासम्म एक्लै बस्‍ने वातावरण बनाइदिनु’, उनले भने, ‘यो संकटमा एकअर्कालाई मानवीय भावनाले व्यवहार गरौं, कसैको पनि अपमान नगरौं।’

शीर्ष समाचार

धेरै पढिएको