October 25, 2024, Friday
KN hd tv

मनसुन थप सक्रिय, बाढी पहिरोको जोखिम कायमै

काठमाडौँ  – केही दिन अघि भारतमा उच्च चापीय क्षेत्र बनेको थियो । त्यसले मनसुन हराएर मौसम खुल्ने अनुमान मौसमविद्ले गरेका थिए ।

त्यसैको प्रभाव दुई÷चार दिन नेपालमा पनि मौसम सफा बनेको थियो तर भारतमा बनेको उच्च चापीय क्षेत्र एकासी विलाएर पुनः न्यून चापीय क्षेत्र बन्यो । सोही क्षेत्रका कारण मौसम पूर्ण बदलीमा परिणत भएको छ । यसपालिको मनसुन सकिने समय सेप्टेम्बर २३ अर्थात् बुधबार हो, तर आजदेखि भने मुलुकभर नै मनसुन सक्रिय भएको छ । यसले अझै केही दिन मनसुसन लम्बिने पक्का भएको छ ।

मनसुन अक्टोबरसम्म पुग्ने अनुमान मौसमविद्ले गरेका छन् । मौसमविद् मिनकुमार अर्यालले अबको केही दिन मुलुकभर नै मौसम बदली रही धेरै ठाउँमा पानी पर्ने र केही स्थानमा भारती वर्षा हुने जानकारी गराउनुभयो । मध्य र पूर्वमा अहिले पूर्ण बदली छ । राति अझै वर्षा हुने क्रम बढ्ने छ । अहिले सुदूरपश्चिममा भने अलि कम बदली रहे पनि रातीदेखि भने बढ्नेछ र केही स्थानमा वर्षा हुने जनाइएको छ । “देशका धेरै जसो स्थानमा वर्षा हुने र थोरै स्थानमा भारी वर्षा हुने अनुमान छ, यो क्रमम तीन दिनसम्म नै रहन्छ ।

कतिपय स्थानमा झरी नै पर्छ”, अर्यालले भन्नुभयो । न्यून चापीय क्षेत्र विस्तारै उत्तरपश्चिम आउँदै छ । यसरी आउनु भनेको नेपालको मौसम बदलीमा सहयोग गर्नु हो । अहिले पश्चिमतिर अलि माथि आउने र त्यसपछि मध्य पूर्वतिर सर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यून चापीय रेखा नेपाल नजिक आउँदा भारी वर्षाको सम्भावना हुन्छ । विगतमा तीन÷चार दिन नेपालमा राम्रो घाम लागेको थियो । छिटफुटबाहेक मौसम बदली थिएन । यो बेला भारतमा उच्च चापीय क्षेत्र बनिसकेको थियो ।

त्यो सर्दै नेपाल आउँदा अब विस्तारै यसपालिको मनसुन हट्ने विष्लेषण मौसमविद्ले गरिसकेको तर भारतमा बनेको त्यो उच्च चापीय क्षेत्र त्यहीँ विलाएर गयो र न्यून चापीय क्षेत्र बन्न पुग्यो । त्यसपछि फेरि मनसुन सक्रिय हुन थालेको हो । मौसम खुल्नका लागि मनसुनी हावाको प्रभाव उल्टो हुनुपर्ने तर अहिलेसम्म त्यसो हुन सकेको छैन ।

त्यसैले अझै केही हप्ता मनसुन सक्रिय हुने देखिएको विभागले जनाएको छ । अहिले पूर्व र मध्य क्षेत्रमा रहेको मनसुनी प्रभाव बुधबारदेखि मध्य र केही पश्चिमतिर केन्द्रित हुनेछ । त्यसक्षेत्रमा आगामी तीन दिन केही समय पानी रोकिने र बदली कम हुने देखिए पनि मुलुकभर नै मनसुन सक्रिय हुने र केही स्थानमा भारी वर्षा गराउने छ ।

शीर्ष समाचार

धेरै पढिएको