November 21, 2024, Thursday
KN hd tv

बाढीले क्षति पुर्‍याएका जलविद्युत् आयोजनाको पुनर्निर्माणमा समस्या भयाे : व्यवसायी

काठमाण्डौ – बाढीले क्षति पुर्‍याएका जलविद्युत् आयोजनाहरूकाे पुनर्निर्माण र मर्मतका लागि आयात गर्ने सामानमा भ्याट छुट नदिए आयोजना पुनर्निर्माण गर्नसक्ने अवस्था नभएको व्यवसायीहरूले गुनासो गरेका छन् ।

व्यवसायीहरूले गएको वर्ष देशको पूर्वी क्षेत्रमा आएको बाढीले क्षति भएको आयोजनाहरूको पुनर्निर्माण र मर्मत गर्ने काम बाँकी रहेको अवस्थामा यस वर्षको बाढीले पुनः जलविद्युत् आयोजनाहरूले ठूलो नोक्सानी बेहोर्नुपरेको बताएका हुन् । यो अवस्थामा राज्यले व्यवसायीलाई सुविधा दिन नसकेको उनीहरूको गुनासो छ ।

उनीहरूले जलविद्युत् उत्पादनको अनुमति लिँदा नै विपद् र प्राकृतिक प्रकोपको समयमा क्षति भएका आयोजना निर्माणमा आवश्यक मेशिनरी १ प्रतिशत भन्सारमा सामान आयातमा गर्ने व्यवस्था नपाएको बताएका छन्  ।

व्यवसायीहरूले सरकारले आर्थिक विधेयकमार्फत बाढीले क्षति पुर्‍याएका जलविद्युत् आयोजनाहरू पुनर्निर्माण र मर्मतका लागि आयात गर्ने सामानमा दिँदै आएको भ्याट छुट व्यवस्था खारेज गरेसँगै आफूहरू विगत दुई वर्षदेखि समस्यामा रहेको बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले भ्याट छुट दिने विषयमा अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालयबीच जुहारी चलिरहेको भन्दै यसले ऊर्जा उत्पादनमा समस्या हुने बताउनुभयो ।

यस वर्षको बाढीले २० वटा जलविद्युत् आयोजनामा कम्तीमा दुई अर्ब ३९ करोड रुपैयाँको क्षति भएको इप्पानले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको