एमालेले किन गर्दैछ काठमाडौंमा जागरण सभा ? देखायो यस्ता पाँच कारण
काठमाडौं । सरकार सञ्चालनको नेतृत्व गरिरहेको नेकपा एमालेले आगामी मंसिर ७ गते काठमाडौँमा जागरणसभा गर्दैछ । एमालेको उपत्यका मातहत कमिटी, जनसंगठन र विभागीय प्रमुखको संयुक्त विस्तारित बैठकले जागरणसभा गर्ने निर्णय लिएको हो । एमालेले गर्न लागेको जागरण सभालाई विधिको शासन र कानुनी राज्यको पक्षमा जनमत निर्माण गर्ने कार्यक्रम भएको बताएको छ ।
नेकपा एमालेले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीको पक्षमा जनमत तयार गर्ने उद्देश्य समेत राखेर कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिएको छ । एमाले काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीहरू मुख्य आयोजक, विभिन्न जनसंगठन, पेसागत संगठन, सम्पर्क समन्वय कमिटी र विभागहरूको सहभागितामा मंसिर ७ गते काठमाडौंमा जागरण सभा हुँदैछ । पत्रकार सम्मेलनमा वर्तमान सन्दर्भमा जनताका बिचमा पार्टीको दृष्टिकोण र मान्यता स्पष्ट गर्न जरुरी भएकोले जनजागरण सभाको आयोजना गर्न लागेको जानकारी दिइयो ।
राजनीतिक अस्थिरता र अराजकताका विरुद्ध, विधिको शासन र कानुनी राज्यका पक्षमा जनमत निर्माण गर्न, गौरवशाली इतिहास, सही र सक्षम नेतृत्व, क्रान्तिकारी विचार, अग्रगामी सोच र स्पष्ट गन्तव्यलाई प्रष्ट पार्न, वर्तमान संयुक्त सरकारले गरेका काम, उपलब्धि र आगामी योजनाका बारेमा जनतालाई स्पष्ट गर्न, सुशासन, विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व कायम गर्न, संवैधानिक, कानुनी र संरचनागत सुधारको प्रक्रिया अघि बढाउन आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीका पक्षमा जनमत निर्माण गर्न सभा गर्न लागिएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टी महासचिव शंकर पोखरेलले जनतालाई आशावादी बनाउन जरुरी रहेको बताउँदै त्यसका लागि समाजमा देखिएको अराजकता चिर्न आवश्यक रहेको स्पष्ट पारे । जनता असन्तुष्ट छन् भनि गरिएको प्रचारलाई चिर्न जागरण सभा गर्न लागिएको उनले जानकारी दिए । ‘जनता प्रमुख दल प्रति नै विश्वास र भरोसा गर्छन् र उनीहरूबाट नै सुधारको अपेक्षा गर्दछन् भन्ने सन्देश दिन जरुरी छ, त्यो हिसाबले जागरण सभा गर्दैछौं’, उनले भने ।
जनताको बीचमा जाने कुरा रक्षात्मक नहुने उनले बताएका छन् । राजनीतिक दल सधैँभरि जनताको बीचमा नै जानु पर्ने उनको भनाइ छ । त्यही धारणा अनुसार जनताको बिचमा जाने एउटा माध्यम जागरण सभा भएको पोखरेलले बताए । सामाजिक अराजकता प्रवृत्तिकै रूपमा अघि बढेको भन्दै पोखरेलले चिन्ता व्यक्त गरे । यस्तो कुरा विकास र समृद्धिका लागि बाधक हुने उनको भनाइ छ । सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथि छानबिन प्रक्रिया अघि बढ्दा जस्तो प्रकारको गतिविधि भएको छ त्यो कानुनी राजको खिल्ली भएको उनको भनाइ छ । ‘निरन्तर रूपमा योजना बनाएर यस्तो गतिविधि गर्नु उचित कुरा होइन’, पोखरेलले भने ।
एमालेले देखायो पाँच कारण
नेकपा एमालेले आउँदो ७ मंसिरमा जनसभा गर्नुको पाँच कारण औंल्याएको छ । बागमती प्रदेश इन्चार्ज रहेका डा.राजन भट्टराईले शुक्रबार बक्तव्य जारी गर्दै जनसभाको औचित्य सार्वजनिक गरेका हुन् । उक्त बक्तव्य अनुसार जनसभाको पहिलो कारण विधिको शासन र कानूनी राज्यको पक्षमा जनमत निर्माण गर्नु रहेको उल्लेख छ ।
‘राजनीतिक अस्थिरता र अराजकताका विरुद्ध, विधिको शासन र कानुनी राज्यका पक्षमा जनमत निर्माण गर्न’, वक्तव्यमा लेखिएको छ । दोस्रो कारण पार्टीको इतिहास, वर्तमान सक्षम नेतृत्व र भावी गन्तव्य प्रष्ट पार्नु रहेको बक्तव्यमा लेखिएको छ । जनसभाको तेस्रो कारण सरकारले गरेको कामको प्रचार रहेको भट्टराईले प्रष्टोक्ति दिएका छन् । चौथौ कारण सुशासन र समृद्धिको प्रतिबद्धता अनि पाँचौं कारणमा उपचुनावमा माहोल बनाउनु उल्लेख छ । ‘आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीका पक्षमा जनमत निर्माण गर्न’, बक्तव्यमा भनिएको छ।
प्रतिकृया दिनुहोस्