November 21, 2024, Thursday
KN hd tv

धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवारलाई फेरि बोलाइयो अन्तर्वार्तामा

काठमाडौं । धितोपत्र बोर्ड अध्यक्षका लागि आवेदन दिएका तीन उम्मेदवारलाई गृह मन्त्रालयले फेरि अन्तर्वार्ताका लागि बोलाएको छ । मन्त्रालयअन्तर्गत गठित ‘नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समिति’ ले आज (बिहीबार) सूचना प्रकाशन गरी डा. नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीलाई आगामी मंसिर ९ गते बिहान ८ बजे अन्तर्वार्ता दिन सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बोलाएको हो । 

उनीहरूलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्ताका लागि बोलाइएको हो । यसअघि असोज १८ गतेका लागि अन्तर्वार्ता तोकिए पनि विशेष कारण भन्दै अर्थ मन्त्रालयले स्थगन गरेको थियो । २०८० पुस २० यता धितोपत्र बोर्ड अध्यक्षविहीन छ । यसअघि सर्टलिस्टमा परेका दुई जनाले मात्रै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेपछि सिफारिस समितिले नाम सिफारिस गर्न सकेको थिएन । ऐनअनुसार सर्टलिस्टमा परेका पाँचमध्ये कम्तिमा तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने हुन्छ ।

नाम सिफारिस हुन नसकेपछि सरकारले नयाँ प्रक्रिया सुरु गर्न समितिका तिनै सदस्य रहने गरी अर्को सिफारिस समिति बनाएको थियो । सर्टलिस्टमा परेका एक उम्मेदवार सन्तोषनारायणले नयाँ प्रक्रिया सुरु गर्ने कानुनी व्यवस्था नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेपछि अदालतले नयाँ प्रक्रिया सुरु नगर्न आदेश दिँदै माघ ३० गतेका लागि पेशी तोकेको छ ।
 

शीर्ष समाचार

धेरै पढिएको