संविधान संशोधन अग्रगमन र परिवर्तनको पक्षमा हुनुपर्छ : माओवादी केन्द्र
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकार आफ्नै कारणले ढल्ने दाबी गरेको छ । आज (सोमबार) पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार आफ्नै कारणले ढल्ने दाबी गरेका हुन् ।
उनले देशमा राम्रा काम गरिरहेका कर्मचारीहरुलाई हटाउने खेल भइरहेको आरोप लगाए । देशमा असाधारण परिस्थिति बन्दै गएको उनको भनाइ छ । उनले असाधारण परिस्थितिको सामना गर्न सबै पार्टीहरुको बीचमा एकरुपता र समझदारी हुन जरुरी रहेको बताए ।
उनले सरकार राजनीतिक दलहरु फुटाउने चलखेलमा लागिरहेको आरोप समेत लगाएका छन् । संविधान संशोधन अग्रगमन र परिवर्तनको पक्षमा हुनुपर्ने बताए । राष्ट्रियताको सवाल झनझन पेचिलो र जटिल बन्दै गएको तथा लोकतन्त्रका मूल्य, मान्यता र आर्दश कुल्चिने कुचेष्टा भइरहेको आरोप उनले लगाए ।
उनले थपे, ‘यो देशमा राम्रो काम गरिरहेका छन्, उनीहरुलाई हटाउने खेल भइरहेको छ । असाधारण परिस्थिति देशमा बन्दैछ। त्यसको लागि सबै पार्टीहरुको बीचमा एकरुप समझदारी हुनुपर्ने, राष्ट्रिय दृष्टिकोण बन्नुपर्ने बेलामा पार्टीहरु फुटाउने खालको पनि चर्चा चलिरहेको छ । यी सबै कुरालाई, अनि फेरि संविधान संशोधनको कुरा गरेर त्यो त आवरण मात्रै थियो, उहाँहरुलाई सत्तामा जानु थियो । जानका लागि उहाँहरुले संविधान संशोधनको कुरा गर्नुभएको थियो । हामी अब भन्छौँ, संविधान संशोधन गर्ने हो भने अग्रगमनको पक्षमा परिवर्तनको पक्षमा जनताका अधिकारहरु बढाउने पक्षमा गर्नुपर्छ । अरु कुरा त हामी गर्दै गरौंला । प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्छ । त्यसले मात्रै अहिले देखिएका विकृति, विसंगतिहरु, यो अस्थिरता हट्छ, राजनीतिक स्थायित्व ल्याउन सक्छ भन्ने हाम्रो विचार छ ।’
प्रतिकृया दिनुहोस्