October 22, 2024, Tuesday
KN hd tv

बिरामीको मृत्यु भएपछि मेडिसिटी अस्पतालविरुद्ध मुद्दा दायर, पाँच करोड क्षतिपूर्ति माग 

काठमाडौं– उपचारका क्रममा बिरामीको मृत्यु भएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालविरुद्ध मुद्दा दर्ता भएको छ । 

काठमाडौँ, वनस्थलीका ज्ञानप्रसाद रिमाल मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना भएको तर चिकित्सकहरूले गलत औषधिको प्रयोग र उपचार गरेकाले उनको मृत्यु भएको दाबी गर्दै परिवारले पाँच करोड रुपैयाँ क्षतिपूर्ति दाबीसहित मुद्दा दायर गरेका हुन् । 

गत असोज १ गते मुटुको उपचार र मृगौलाको डायलासिस गर्ने भन्दै रिमाल अस्पतालमा भर्ना भएका थिए । तर, उनको असोज ४ गते मृत्यु भएको थियो । चिकित्सकहरूले गलत औषधिको प्रयोग र उपचारमा लापरबाही गरेकै कारण उनको मृत्यु भएको परिवारको आरोप छ ।

 रिमाल अमेरिकामा बसोबास गर्दै आएका थिए । नेपाल आएका उनी मुटुको उपचार र मृगौलाको डायलासिसका लागि मेडिसिटी अस्पतालमा भर्ना भएको फिरादपत्रमा उल्लेख छ । सुरुमा उनलाई मुटुको इसीजी गराइएको थियो । बेलुका जाँचपछि मुटुमा ब्लकेज देखिएको भन्दै बिहान एन्जीयोग्राम गर्ने भनिएको थियो ।

असोज २ गते डा. रञ्जितकुमार शर्माको टोलीले इन्जीयोग्राम सफलतापूर्वक सम्पन्न गरेर १ बजे आइसीयूमा सारेको जानकारी परिवारलाई गराएका थिए । परिवारका सदस्यहरूलाई पनि उक्त समयमा भेट गर्न दिइएको बताइएको छ । बेलुका परिवारका तर्फबाट कुरुवा बस्नु नपर्ने र आवश्यक परे अस्पतालले नै खबर गर्ने भनेपछि रिमाल परिवार घर फर्केका थिए । 

असोज ३ गते बिहान ६ बजे परिवारले सोध्दा अवस्था सामान्य भएको तर, हात सुन्निएर निलो भएकाले सामान्य उपचार हुने जानकारी गराइएको थियो । सोही दिन राति नौ बजेदेखि बिरामीको हातमा फोका देखा पर्न थालेको थियो । रातभरि बिरामीको अपडेट नपाएपछि परिवार भोलिपल्ट बिहान ६ बजे अस्पताल पुग्दा हातमा टेपको एलर्जी भएको र रगत बगेको भनेर जानकारी गराएको तर हात पूरै फोकाले समस्याग्रस्त भएको कुरा अस्पतालले लुकाएको उल्लेख छ ।

अन्तमा हातको शल्यक्रिया गरेको र उक्त शल्यक्रियापछि अत्यधिक रक्तस्राव भएर बिरामीको मृत्यु भएको फिरादपत्रमा दाबी गरिएको छ ।

हातमा देखिएको फोकाकै कारण मृत्यु भएको भनी रिपोर्ट लेखिएको र अस्पतालले आफ्नो लापर्बाहीले मृत्यु भएपछि परिवारसँग कुनै पनि शुल्क नलिइ शव पठाएको र सात लाख रुपैयाँ उपचारमा छुट गरेर घटना लुकाउन खोजेको फिरादपत्रमा उल्लेख छ ।

https://drive.google.com/file/d/1hAIe0efqe_pw4jdyowcOUZ4QozB8bGQH/view

शीर्ष समाचार

धेरै पढिएको