October 22, 2024, Tuesday
KN hd tv

क्रिप्टो कारोबारीसँग रकम असुलेको घटनामा दुई प्रहरीसहित तीन जनाविरुद्ध मुद्दा 

काठमाडौँ । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेको घटनामा दुई प्रहरीसहित तीन जनाविरुद्ध मुद्दा दायर भएको छ । ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौँको साइबर शाखाका सहायक हवल्दार गणेश खड्का, साइबर शाखाकै साजन शर्मा चपाई र खोटाङ घर भएका ३५ वर्षीय तेजबहादुर तामाङविरुद्ध मुद्दा दायर भएको हो ।

मुद्दा चलाइएकामध्ये तामाङ भने फरार छन् । उनीहरुविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासमा उनीविरुद्धको मुद्दाको सुनुवाइ सुरु भएको छ ।

थुनछेक बहसपछि साधारण तारेख तथा धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार पठाउने भन्ने आदेश आउने छ । तीन जना मिलेर क्रिप्टोको कारोबार गरेको आरोपमा आशिष आचार्य नाम गरेका युवकलाई पक्राउ गरेर दुई दिनसम्म राखेर छाडेको खुलेको थियो । तामाङ र प्रहरी हवल्दार खड्काबीचको मिलेमतोमा घटना भएको आशंकामा प्रहरी परिसरले सुरूमा आन्तरिक छानिबन थालेको थियो ।

पछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसपी प्रजित केसी नेतृत्वमा छानबिन समिति बनाएको थियो ।उक्त समितिले पनि दुई जना प्रहरी र तामाङबीचको संलग्नतामा ठगी घटना भएको भन्दै कारबाही गर्न सिफारिस गरेको थियो । तर उक्त समितिले प्रहरीले रकम लिएको आधार भने भेटाएको थिएन । यस्तै नियन्त्रणमा रहेका दुबै प्रहरीले घटनामा रकम असुली नगरेको र त्यसबारे आफूलाई थाहा नभएको पनि बयान दिएका छन् । 

शीर्ष समाचार

धेरै पढिएको