October 22, 2024, Tuesday
KN hd tv

बिचौलियाको प्रलोभनमा परी नेपाली  युवा युद्ध भूमरीमा परे : प्रस्तावित राजदूत चौहान

काठमाडौं । रुसका लागि प्रस्तावित राजदूत जंगबहादुर चौहानले नेपाली युवाहरू बिचौलियाहरूको प्रलोभनमा परेर रुस–युक्रेन युद्धको भूमरीमा परेको टिप्पणी गरेका छन् । संसदीय सुनुवाइ समितिको आज (बुधबार) को बैठकमा सुनुवाइका क्रममा प्रस्तावित राजदूत चौहानले आफ्नो कार्ययोजना र अनुभव राख्ने क्रममा उनले रुसको तर्फबाट युक्रेनसँगको युद्धमा रहेका युवाहरू बिचौलियाहरूको प्रलोभनमा परेको बताएका हुन् । 

आफूले रुसी सेनामा सहभागी युवाहरूको विषय समाधान गर्न संयोजनकारी भूमिका खेल्ने पनि बताएका छन् । ‘एउटा जटिल समस्याका रूपमा देखिएको यो विषय सेनासँग सम्बन्धित भएकाले सबै कुरा प्रष्टसँग बाहिर आएको छैन ।बिचौलियाहरूको प्रलोभनमा परेर हाम्रा युवाहरू युद्धको भूमरीमा परेका छन्,’ चौहानले थपे, ‘तिनीहरूको उद्धारका लागि नेपालको परराष्ट्र मन्त्रालयले आवश्यक संवाद अघि बढाइरहेको सन्दर्भमा यिनीहरूको उद्धारका लागि हरसम्भव प्रयास हुनु जरुरी छ । रुस र रुसी भाषा ज्ञानका कारण संयोजनकारी भूमिकामा रहेर काम गर्न सहज हुने ठान्दछु ।’

रुसी सेनामा सहभागी १७५ जनालाई नेपाल फर्काइएको पनि उनले जानकारी गराए । मस्कोस्थित नेपाली दूतावासबाट मंगलबार आफूले प्राप्त गरेको तथ्यांक अनुसार ७ जना नेपालीहरू युक्रेनमा युद्धबन्दी रहेको र रुसी सेनामा सहभागी भएका ४३ जनाको मृत्यु भएको पनि उनले जानकारी दिए ।

रुसमा मृत्यु भएकाहरूको शव नेपाल ल्याउन जटिलता रहेको पनि चौहानले बताएका छन् । उनले डीएनए परीक्षणलगायतमा हुने समस्याले गर्दा जटिल अवस्था हुनसक्ने उनको भनाइ थियो । युद्धमा मृत्यु भएकाहरूको शव दक्षिण रुसमा रहेका होल्डिङ सेन्टरमा रहेको र पहिचान हुन नसक्ने अवस्था रहेको पनि उनले बताए । रुसी सेनामा नेपाली सहभागी हुनुमा नेपाल सरकार जिम्मेवार नभएको पनि चौहानले बताए । उनले त्यहाँ गएकाहरूलाई फर्काउने र मृत्यु भएकाहरूको शव ल्याउनेलगायतका व्यवस्थापन गर्ने जिम्मेवारी भने सरकारको रहेको बताए ।

रुसी सेनामा संलग्न नेपालीले रुसको नागरिकता पाएमा नेपालीको क्षेत्राधिकार नरहने पनि प्रस्तावित राजदूत चौहानले बताएका छन् । रुसी सेनामा रहेका नेपालीहरूसँग सम्बन्धित समस्या समाधान गर्नका लागि आफूले सहजीकरणको भूमिका निर्वाह गर्ने पनि उनको भनाइ थियो । सुनुवाइका क्रममा प्रस्तावित राजदूत चौहानले दुई देशबीचको सम्बन्ध वस्तिार गर्ने र उच्चस्तरीय भ्रमण गर्ने, प्राज्ञिक सम्बन्ध प्रवर्धन गर्ने, रुसमा नेपाल अध्ययनका लागि भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
 

शीर्ष समाचार

धेरै पढिएको