बहुदलीय व्यवस्थाको विकल्प छैन : देउवा
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी कानून बनेसँगै देशमा द्वन्द्व र काटमारको स्थित अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।
आज काठमाडौंमा आयोजित ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदबाट सर्वसम्मत पारित भइ गएको टीआरसी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणित भइसकेको भन्दै खुशी समेत व्यक्त गरे ।
‘अहिले एउटा महत्वपूर्ण कुरा के छ भने टीआरसी भनेर हामीले संसदबाट सर्वसम्मतिले पास गरेका छौँ । राष्ट्रपति ज्यूबाट पनि प्रमाणीकरण भइसकेको छ’, उनले भने, ‘अब पुरानो द्वन्द्व, काटमार जुन थियो, त्यो कुराहरुको अन्त्य हुनेछ भन्ने मलाई विश्वास छ ।’
द्वन्द्व निरुपण हुने स्थिति बनेसँगै मुलुक विकास र अन्य काममा अगाडि बढ्नेमा देउवाको विश्वास छ । अहिलेको गणतन्त्र बहुदलीय व्यवस्थामा आधारित रहेको जनाउँदै उनले अब स्थायीरुपमा स्थापित गर्न सक्नुपर्नेमा जोड दिए । उनले भने, ‘सबैले आवश्यक ठान्यो भने संशोधन हुनसक्छ । अहिलेको संविधान समावेशी छ, समावेशिताको विषयमा पनि केही कुराहरु छन्, कति मानिसहरु चुनाव जित्न सक्दैनन्, त्यसका लागि समावेशिता पनि आवश्यक छ ।’
प्रतिकृया दिनुहोस्