October 22, 2024, Tuesday
KN hd tv

सरकारले आजै टिकटक खुलाउँदै, चिनियाँ राजदूतको प्रतिक्रिया–‘टुडे इज अ गुड डे’

काठमाडौं । सरकारले टिकटकमाथिको प्रतिबन्ध आज (बिहीबार) देखि हटाउने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषदको बैठकले टिकटकमाथि झण्डै १० महिनादेखि लागिरहेको प्रतिबन्ध हटाउने तयारी रहेको हो । मन्त्रिपरिषद् बैठक आज (बिहीबार) अपरान्ह ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने तय भएको छ ।

आज बस्ने यो बैठक नियमित हो । आजको बैठकमा विगत १० महिनादेखि बन्द भएको सामाजिक सञ्जाल एप टिकटिकमाथिको प्रतिबन्ध फुकाउने प्रस्ताव पेस हुँदैछ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तर्फबाट मन्त्री पृथ्वीसुब्बा गुरुङले सो प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली समेतको छलफलपछि सञ्चारमन्त्री गुरुङले बिहीबार सो प्रस्ताव मन्त्रिपरिषदमा लैजान लागेका हुन् ।

त्यसैलाई संकेत गर्दै नेपालका लागि चिनिया राजदूत छन सङले खुशी व्यक्त गरेका छन् । उनले ट्वीटरमा खुशी व्यक्त गर्दै लेखेका छन्– ‘टुडे इज अ गुड डे’ । राजदूतले यसबारे थप केही खुलाएका छैनन्–यसबारेको जवाफमा उनले लेखेका छन्–वेट एन्ड सी । टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारीकै विषयमा  राजदूतको यस्तो प्रतिक्रिया आएको धेरैले  अनुमान गरेका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले टिकटकले विकृति भित्र्याउन सहयोग गरेको भन्दै प्रतिबन्ध लगाएको थियो । 

शीर्ष समाचार

धेरै पढिएको