November 21, 2024, Thursday
KN hd tv

काठमाडौंका सडक जलमग्न, सवारी आवागमन प्रभावित

काठमाडौं । लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाका धेरै सडक जलमग्न हुँदा सवारी आवागमन अस्तव्यस्त बनेको छ । गए रातिदेखिको वर्षाले सडकमै पानीको भेल पसेपछि सवारी आवागमन अस्तव्यस्त भएको हो । 

ललितपुरको कुपण्डोल, मंगलबजार, जावलाखेल र भित्री सडकहरूमा समेत पानीको भेलले सवारी आवागमन रोकिएको छ । थापाथली पुलको जाम जावलाखेलसम्म पुगेको छ । त्यस्तै काठमाडौंको भद्रकाली, सिंहदरबार, पुतलीसडक, बालाजु क्षेत्र, स्वयम्भू, सीतापाइलालगायत क्षेत्रमा समेत बाढीले सडक अस्तव्यस्त बनेका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी विश्वराज खड्काका अनुसार वर्षाले काठमाडौं उपत्यकाका अधिकांश सडक अस्तव्यस्त बनेका छन् । सवारी आवागमनमा अवरोध हुँदा ट्राफिक जाम भएको उनले बताए । उनले भने, ‘हाम्रो सबै जनशक्ति अहिले सडकमै खटिएका छन्, जाम भएका सडक खुलाउने प्रयास गरिरहेका छन् ।’ उनले सवारीसाधनको चापले नभएर वर्षातले कतिपय वैकल्पिक मार्ग (विष्णुमती, बागमती करिडोर) सडक सूचारु हुन नसक्दा मुख्य सडकहरू जाम भएका हुन् ।

काठमाडौंसहित ६३ जिल्ला बाढीको जोखिममा 
आज (मंगलबार) काठमाडौँसहित देशका ६३ जिल्लामा बाढीको जोखिम देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।  महााशाखाले आज बिहान बाढी पूर्वानुमान बुलेटिन जारी गरी सिन्धुपाल्चोक, काठमाडौँसहित १२ जिल्लामा अति उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । 

बुलेटिनअनुसार आज सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बहने केही नदीमा बहाव बढ्ने तथा केहीमा आकस्मिक बहावको उच्च जोखिम देखिएको छ । सजग गराउँदै महाशाखाले अगाडि भनेको छ–नदी तटीय क्षेत्रमा अति उच्च सतर्कता अपनाउन हुन अनुरोध छ । यस्तै आज अन्य ५१ जिल्लामा पनि बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ । 

महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, उदयपुर, सिन्धुली, मकवानपुर, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, म्याग्दी, बागलुङ, प्युठान, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, दैलेख, अछाम, सल्यान, सुर्खेत, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने केही  नदीमा बहाव बढ्ने तथा केहीमा नदीमा आकस्मिक बहावको मध्यम जोखिम देखिएको हो । महाशाखाले भनेको छ–नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ ।
 

शीर्ष समाचार

धेरै पढिएको