July 26, 2024, Friday
KN hd tv

धमाधम अदालत उपस्थित हुँदै ललिता निवास जग्गा प्रकरणका आरोपित

काठमाडौं–ललिता निवास जग्गा प्रकरणका आरोपितहरु धमाधम विशेष अदालतमा हाजिर हुन थालेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा चार मन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो।  यीमध्ये धेरै जना यतिबेला अदालतमा उपस्थित हुन थालेका छन्।

आयोगले २०७६ माघ २२ गते नेपाली कांग्रेसमा महामन्त्री विजयकुमार गच्छदारसहित भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङविरुद्ध पनि मुद्दा दायर गरेको थियो।  विशेष अदालतले उनीहरुलाई फागुनमै अदालत उपस्थित हुन म्याद जारी गराएको थियो।

लकडाउन खुकुलो भएसँगै अदालत खुल्न थालेका छन्। विशेष अदालतमा आइतबार मालपोत कार्यालयमा तत्कालीन नासु श्रीहरि पुडासैनी उपस्थित भएका थिए।  उनलाई विशेषले ५० हजार धरौटी माग गरेको थियो । विशेष अदालतका न्यायाधीश बालेन्द्र रुपाखेतीसहितको इजलाशले धरौटीमा छोडेको थियो। अख्तियारले उनसँग ४२ लाखको विगो दावी गरेको थियो। सरकारी जग्गा व्यक्तिको बनाउन सिफारिस गरेको आरोप उनीमाथि थियो। 

सोमबार अर्का प्रतिवादी धर्मशोभा शाक्य उपस्थित भएकी छन्। उनलाई अदालतले आवश्यक परेको अवस्थामा उपस्थित हुने गरि छाडेको छ। शाक्यलाई धरौटीसमेत नमागी अदालतले छाडेको हो। शाक्यको नाममा ललिता निवासको  उक्त जग्गा देखिएको थियो। उक्त जग्गा उनले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसँग खरिद गरेको बयान दिएकी थिइन्। खरिदगर्दासम्म आफूलाई उक्त जग्गा सरकारी वा कसैको नामको भएको बारे थाहा नभएको उनले बयान दिएकी थिइन्।

उनले उक्त जग्गा १५ लाख रुपैयाँमा खरिद गरेको बयान दिएकी थिइन् । 

शीर्ष समाचार

धेरै पढिएको