September 7, 2024, Saturday
KN hd tv

कोशी ब्यारेजमा रातो झन्डा, सप्तकोशीका ५६ वटै ढोका खोलियो

विराटनगर – सप्तकोसी नदीमा पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजमा रातो झण्डा गाडिएको छ भने ब्यारेजको ५६ वटै ढोका खोलिएको छ ।

सुनसरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बिहान ९ः०० बजेको मापन अनुसार पानीको बहाव प्रतिघण्टा ३ लाख ६८ हजार ६७० क्युसेक पुगेसँगै ब्यारेजमा रातो झन्डा गाडिएको जानकारी दिए । यो वर्षकै बहाव उच्च भएपछि कोशीका ५६ वटै ढोका खोलिएको नायव उपरीक्षक भण्डारीले बताए ।

सप्तकोसी ब्यारेजले प्रतिघण्टा ४ लाख क्युसेकसम्म धान्न सक्ने प्रहरी बताउँछ । पानीको बहाव अझै बढ्ने अनुमान गरिएको छ । ८ बजेको मापनमा प्रतिघण्टा ३ लाख ४९ हजार क्युसेक थियो भने ७ बजे ३ लाख ४२ हजार क्युसेक पानी थियो ।

पानीका बहाव बढेपछि उच्च सतर्कता अपनाउनुको साथै नदी किनारतिर प्रहरीले निगरानी बढाएको छ ।

सप्तकोशी नदीको बाढीले खतराको संकेत पार गरेपछि स्थानीय प्रशासनले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको