October 18, 2024, Friday
KN hd tv

प्रधानमन्त्री प्रचण्डले चौँथो पटक पाए विश्वासको मत

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएका छन् । उनले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनेर राखेको प्रस्तावको पक्षमा १५७ जनाले मत दिए भने विपक्षमा कसैले मतदान गरेनन् । १ जना भने तटस्थ रहे ।

सोमबार प्रधानमन्त्रीले विश्वासको मत माग्दा प्रतिनिधिसभाका २७५ सदस्यमध्ये १५८ जनाले मतदान गरेका थिए । प्रतिनिधिसभामा प्रधानमन्त्रीले आफ्नो पक्षमा बहुमत देखाउन कम्तीमा १३८ जनाको समर्थन जुटाउनुपर्थ्यो ।

प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्तावमा पाएको मत प्रतिनिधिसभाको बहुमत भएको भन्दै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएको घोषणा गरे ।

उनलाई विश्वासको मत दिएको जनता समाजवादी पार्टी नेपाल फुटेर जनता समाजवादी पार्टी बनेपछि जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसपछि उनले विश्वासको मत लिएका हुन् ।

उनलाई एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र जनमत पार्टीसहितका दलले विश्वासको मत दिएका छन् ।

उनले यसअघि २१ फागुनमा विश्वासको मत लिएका थिए । कांग्रेसँगको सहकार्य तोडेपछि त्यसबेला उनले विश्वासको मत लिएका थिए । १० पुस २०७९ मा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत मागेको यो चौँथो पटक हो । २५ पुस २०७९ मा पहिलो पटक विश्वासको मत लिएका प्रचण्डलाई त्यतिबेला प्रतिनिधिसभामा रहेका राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीबाहेक सबै दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।

तर २०७९ फागुनमै एमालेसँग सहकार्य तोडेर कांग्रेससँग गठबन्धन बनाएका प्रचण्डले ६ चैत २०७९ मा विश्वासको मत लिएका थिए । त्यतिबला उनले १७२ मत पाएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको