भैरहवा पुनः उडान भर्न जजिराको शर्त : टिकट कर र हवाई ईन्धनमा सहुलियत
काठमाडौं – केही समय उडान भर्दै र रोक्ने गर्दै आएको कुवेतको जजिरा एयरलाइन्सले भैरहवा उडान भर्न दुई शर्त अगाडि सारेको छ । जजिराले भैरहवाबाट पुनः उडान गर्न टिकट बिक्री करमा छुट हुनुपर्ने र हवाई इन्धनमा पनि सहुलियत दिन माग गरेको छ ।
पटक–पटक उडानको लागि जजिरालाई आग्रह गर्दा जजिराले शर्त राख्दै उडान भर्ने सहमति जनाएको हो । भैरहवामा अर्बौं लगानीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए पनि नियमित उडान नहुँदा उद्योगी व्यवसायीले चिन्ता व्यक्त गर्दै आएका छन् । ती दुवै शर्तमा सहुलियत पाएमा विज एयरले पनि भैरहवाबाट उडान गर्न खोजेको छ । जजिरा र विज एयरले सहुलियत दिएमा उडान गर्न सक्छौँ भन्ने आसयपत्र नेपाल नागरिक उड्यन प्राधिकरणलाई बुझाएका छन् । तर, यस बारेमा मन्त्रिपरिषदले निर्णय गर्नुपर्छ ।
नागरिक उड्यन प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाले टिकट बिक्री कर र इन्धनमा सहुलियतको लागि सञ्चालक समितिबाट निर्णय गरेर मन्त्रिपरिषदमा पठाउने जानकारी दिए । ‘उनीहरूको भैरहवाको लागि काठमाडौं बराबरको शुल्क लिन भएन भन्ने माग छ । हामीले सञ्चालक समितिबाट प्रशासनिक प्रक्रिया पूरा गरेर मन्त्रिपरिषदमा पठाउँछौँ,’ निरौलाले भने, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना पनि भएको हुनाले नेपाल सरकारबाट सहुलियतसम्बन्धी निर्णय हुन्छ भन्नेमा आशावादी छौँ ।’
उपमहानिर्देशक निरौलाले सरकारले निर्णय गर्नेबित्तिकै वायुसेवा कम्पनीको सञ्चालन लागतमा कमी आउने र अरु विमान कम्पनी पनि भैरहवामा आकर्षित हुने आशा जनाए । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष हुन लाग्दा पनि नियमित सञ्चालन हुन सकेको छैन । २०७९ जेठ २ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेसँगै जजिरा एयरवेजले उडान थालेको थियो । केही महिनादेखि जजिराले उडान रोकेको छ ।
प्रतिकृया दिनुहोस्