५,५५५ किलोको महाघण्ट उदघाटन गर्न राष्ट्रपति पौडेल पञ्चकोटमा
बागलुङ – राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको पञ्चकोटमा आएका छन् । बुधबारदेखि प्रारम्भ भएको ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन राष्ट्रपति यहाँ आएका हुन् । राष्ट्रपति पौडेल पञ्चकोटमा राखिएको पाँच हजार पाँच सय ५५ किलोको महाघण्ट उद्घाटनका लागि बागलुङ आएका हुन्। पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सञ्चालन भएको छ । बुधबारदेखि सुरु भएको महायज्ञमा राष्ट्रपति पौडेलले अर्चना गर्ने कार्यक्रम छ ।
पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न यहाँ महाघण्ट राखिएको हो । विसं २०७१ देखि पञ्चकोटमा धार्मिक संरचना बनाउन सुरु गरिएको थियो । गत साता महाघण्टलाई पञ्चकोट ल्याइएको थियो ।
पञ्चकोटमा अहिलेसम्म सिस महल, गण्डकी माताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्तिलगायत दर्जनौँ धार्मिक संरचना बनिसकेका छन् । पञ्चकोटमा निर्माण गर्न लागिएको एक सय आठ फिट अग्लो गण्डकी विश्वशान्ति कलशको नजिकै महाघण्ट राखिएको छ । महाघण्ट बनाउन करिब रु दुई करोड खर्च लागेको अनुमान गरिएको छ । रासस
प्रतिकृया दिनुहोस्