गण्डकीमा तीन सिटका लागि आठ जना भिड्दै, यस्तो छ मतभार
पोखरा – गण्डकीमा राष्ट्रियसभाको रिक्त तीन क्लस्टरका लागि आज (बिहीबार) मतदान हुँदैछ । अन्य अपाङ्गता-अल्पसंख्यक र महिला क्लस्टरबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरूको कार्यकाल सकिने भएकाले मतदान हुन लागेको हो ।
राष्ट्रियसभा अध्यक्ष समेत रहेका गणेशप्रसाद तिमिल्सिना, महिला क्लस्टरमा निर्वाचित दीपा गुरुङ र अपाङ्गता-अल्पसंख्यकतर्फ प्रकाश पन्थ २०७४ मा भएको राष्ट्रियसभा निर्वाचनबाट निर्वाचित भएका थिए । ०७४ को राष्ट्रियसभा निर्वाचनबाट निर्वाचित यी तीनैजनाले गोलाप्रथा गर्दा ६ वर्षको कार्यकाल पाएका थिए ।
एमालेबाट निर्वाचित तिमिल्सिना र गुरुङ तथा कांग्रेसबाट नियुक्त भएका पन्थको स्थानमा अहिले गठबन्धन दल एमाले र राप्रपाले गरी आठ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । केन्द्रका सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेसले अन्य क्लस्टरमा गण्डकी कांग्रेसका महामन्त्री किरणबाबु श्रेष्ठ र अपाङ्गगता-अल्पसंख्यक क्लस्टरमा पदम परियारलाई उमेदवार बनाएको छ । महिला क्लस्टर पाएको माओवादी केन्द्रले मनरूपा शर्मा ‘विमला’ लाई उम्मेदवार बनाएको छ ।
एक्लै निर्वाचनमा उत्रिएको नेकपा एमालेले अन्य क्लस्टरमा चक्रबहादुर पराजुली, महिला क्लस्टरमा सम्झना देवकोटा र अपाङ्गता-अल्पसंख्यक क्लस्टरमा हेमन्द्र शेरचनलाई उमेदवार बनाएको छ । प्रदेशसभामा दुई सिट मात्र रहेको राप्रपाले अन्य क्लस्टरमा कास्कीका रोमबहादुर भण्डारी र महिला क्लस्टरमा तनहुँकी गौमाया श्रेष्ठलाई उम्मेदवार बनाएको छ । तीन क्लस्टरमा हुने निर्वाचनका लागि बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान ९ बजेदेखि मतदान हुनेछ ।
दुईटा मतदान केन्द्र बनाइएको छ भने दिउँसो तीन बजेसम्म मतदान चल्ने निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिएका छन् । मतदान सकिएलगत्तै बिहीबार नै मतगणना हुनेछ भने साँझ नै अन्तिम मतपरिणाम आउने छ । गण्डकीमा ६० जना प्रदेशसभा सदस्य तथा ८५ स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष १७० गरी कुल २३० जना मतदाता छन् । तीमध्ये बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली भने सहकारी ठगी प्रकरणमा मुछिएपछि फरार छन् ।
यस्तो छ मतभार
अहिलेसम्मको अवस्था अनुसार तीनै क्लस्टरमा गठबन्धनको जित पक्का देखिन्छ । गण्डकीमा ६० प्रदेशसभा सदस्य, १७० स्थानीय तहका प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्ष छन् । राष्ट्रियसभा निर्वाचनका निम्ति मतदाता यिनै हुन् । जसको कुल मतभार ६ हजार १४० हुन आउँछ । ०७८ को जनगणनापछि प्रत्येक प्रदेशसभा सदस्यको मतभार ४८ बाट बढाएर ५३ कायम गरिएको छ । स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ पुर्याइएको छ । यसलाई आधार मान्दा गण्डकीमा एक्लाएक्लै प्रतिस्पर्धा गरे तीनै सिटमा कांग्रेस विजयी हुने देखिन्छ ।
कांग्रेसका तर्फबाट प्रदेशसभामा २७, स्थानीय तहमा नगरप्रमुख १५, उपप्रमुख ११, गाउँपालिकाका अध्यक्ष २१, उपाध्यक्ष २० जना निर्वाचित भएका छन् । ती २७ प्रदेशसभा सदस्यको मतभार एक हजार ४३१ हुन्छ । स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार एक हजार २७३ हुन आउँछ । दुवै जोड्दा राष्ट्रियसभामा कांग्रेसको मतभार दुई हजार ७०४ हुन्छ ।
सत्ता गठबन्धनको अर्को दल माओवादी केन्द्रका तर्फबाट गण्डकीमा आठ प्रदेशसभा सदस्य छन् । उनीहरूको मतभार ४२४ हुन आउँछ । माओवादीबाट गण्डकीमा दुई नगरप्रमुख, सात उपप्रमुख, नौ गाउँपालिकाका अध्यक्ष र १२ उपाध्यक्ष छन् । उनीहरूको मतभार ५७० हुन आउँछ । प्रदेश र स्थानीय तह गरी माओवादीसँग कुल ९९४ मतभार छ ।
गठबन्धनमै रहेको नेकपा (एकीकृत समाजवादी) सँग ५३ मतभार छ । यो मतभार निर्विरोध निर्वाचित भई सो पार्टीमा प्रवेश गरेका प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)को हो । राष्ट्रिय जनमोर्चाका तर्फबाट एक नगरप्रमुख, गाउँपालिका अध्यक्ष एक र उपाध्यक्ष पनि एक छन् । यी तीन जनप्रतिनिधिको मतभार ५७ हुन आउँछ । गठबन्धनमा आबद्ध यी दलहरूको मतभार जोड्दा तीन हजार ८०८ हुन आउँछ । यो मतभारलाई आधार मान्दा गण्डकीका तीनै सिटमा गठबन्धनका उम्मेदवारको जित निश्चित छ । एमालेका तर्फबाट २२ प्रदेशसभा सदस्य छन् । आठ नगर प्रमुख, नौ उपप्रमुख, २७ गाउँपालिकाका अध्यक्ष र २४ उपाध्यक्ष एमालेका तर्फबाट छन् ।
एमालेसँग प्रदेशसभा सदस्यको मात्र एकहजार १६६ र स्थानीय तहका जनप्रतिनिधिको एक हजार २९२ मतभार छ । प्रदेशसभा सदस्य र स्थानीय तहको गरी एमालेसँग कुल दुई हजार ४५८ मतभार छ । तर, एमालेबाट निर्वाचित ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली निलम्बित छन् । उनको १९ घटाउँदा एमालेसँग दुई हजार ४३९ मतभार रहन्छ । प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )का तर्फबाट दुई प्रदेशसभा सदस्य छन् । उनीहरूको मतभार १०६ हुन आउँछ । गण्डकीमा मनाङ निस्याङ गाउँपालिकाका उपाध्यक्ष छिरिङ गुरुङ स्वतन्त्र रूपमा निर्वाचित भएका थिए ।#राष्ट्रियसभा निर्वाचन
प्रतिकृया दिनुहोस्