बम्जनलाई बलात्कारको विषय बाहिर ल्याउन लागेपछि उल्टै चोरीको आरोप
काठमाडौँ – जबरजस्ती करणीको कसुरमा आफूलाई ‘लिटिल बुद्ध’ भनेर चिनाउने रामबहादुर बम्जन पुर्पक्षका लागि थुनामा छन् । सर्लाही जिल्ला अदालतमा चलेको मुद्दामा रामबहादुर बम्जनको नामले परिचित रामलाल बम्जन ‘अहिले नै कसुरदार होइनन् भनेर भनिहाल्न सकिने अवस्था नदेखिएको’ भन्दै अदालतले थुनामा पठाएको हो ।
सर्लाही जिल्ला अदालतमा २०७७ असार १८ गते दर्ता भएको बाल यौन दुरुपयोगको उक्त मुद्दाका प्रतिवादी रामलाल बम्जन फरार रहेका कारण अन्य आदेश गर्ने र साक्षी बुझ्ने तथा प्रमाण बुझ्ने काम मात्रै भएको थियो । तर केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले बम्जनलाई काठमाडौँबाट पक्राउ गरेपछि प्रहरीले अदालतमा पेश गरेको थियो । सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते बम्जनलाई थुनामै राख्ने आदेश दिएका थिए ।
रामबहादुर बम्जनविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जबरजस्ती करणी र बाल यौन दुरुपयोगको जाहेरी परेको थियो । आफू आनी भई बम्जनले सञ्चालन गरेको सर्लाही लालबन्दी नगरपालिका–१२ पत्थरकोटस्थित महासवौरधी धर्म संघको आश्रममा १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी भएको आरोप थियो ।
२०७३ साल साउन २० गतेदेखि पटकपटक ती आनीमाथि बलात्कार भएको आरोप लागेको छ । २०७३ सालदेखि आफूमाथि पटकपटक बलात्कार भएको र बलात्कारको घटना बाहिर ल्याउन लागेपछि आफूमाथि चोरीको आरोप लगाएको समेत पीडित किशोरीको जाहेरीमा उल्लेख छ ।
बलात्कारको घटनाको हदम्याद कटेपछि मात्रै किशोरी आश्रमबाट बाहिर निस्कन पाएकी थिइन् । त्यहाँबाट निस्केपछि मात्र उनले जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो । अनुसन्धानपछि तत्कालीन कानुनी व्यवस्थाका कारण जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गर्न नमिलेपछि बाल यौन दुरुपयोगको कसुरमा मुद्दा दर्ता गरी सजाय भने जबरजस्ती करणीकै कसुरमा हुने सजायको मागदाबी लिइएको थियो । बम्जनमाथि १४ वर्षसम्मको कैद सजायको मागदाबी गरिएको छ ।
बम्जनले बलात्कार गरेको कुरा श्रीमतीलाई समेत थाहा थियो
पीडित किशोरीले अधिकारप्राप्त अधिकारीसमक्ष दिएको बयानमा बम्जनले आफूमाथि पटकपटक बलात्कार गरेको कुरा बम्जनकी श्रीमती दीपशिखा बम्जनलेसमेत थाहा पाएको दाबी गरेकी थिइन् । बम्जनले नै श्रीमती दीपशिखालाई ‘त्यो केटी गर्भवती भएकी छ कि सोध’ भनेर भनेपछि बम्जनकी दिपशिखाले पीडित किशोरीलाई नै ‘तिमी गर्भवती भएको छौ कि छैनौँ’ भनेर सोधेको पीडितको बयानमा उल्लेख छ । बम्जनकी श्रमिती दीपशिखाले समेत पीडित किशोरीमाथि कुटपिट गरेको किशोरीको बयानमा उल्लेख छ ।
- यस्तो छ पीडित किशोरीको घटना विवरण कागज :
उनलाई बन्धक बनाई बलात्कारको कसुरमा लाग्ने हदम्याद कटेपछि परिवारको जिम्मा लगाएर पठाएको पाइएको छ । त्यति मात्रै होइन, बम्जनले पीडित किशोरीमाथि पटकपटक यौनशोषण गरेपछि किशोरीले आत्महत्याको समेत प्रयास गरेको आफ्नो बयानमा उल्लेख गरेकी छिन् ।
- हदम्याद कटेपछि बाल यौन दुरुपयोगमा सजायको मागदाबी
तत्कालीन समयमा बलात्कारको हदम्याद १ वर्षको मात्रै थियो । तर २०७३ सालमा आफू १५ वर्षको हुँदा भएको बलात्कारको कसुरको हदम्याद तत्कालीन कानुनले १ वर्ष मात्रै तोकेको कारण प्रहरीले बाल यौन दुरुपयोगको कसुरमा मुद्दा ल्याएको थियो । बालबालिका सम्बन्धी ऐन, २०७५ ले आफू बालिका हुँदा कसैले बाल यौन दुरुपयोग गरेमा आफू वयस्क भएको मितिले एक वर्षभित्र समेत जाहेरी दिन सक्ने व्यवस्था गरेकाले किशोरीले आफू १८ वर्ष लागेपछि दिएको जाहेरीका आधारमा मुद्दा चलेको थियो ।
यद्यपि अभियोग दाबीमा बाल यौन दुरुपयोग भनिएपनि बम्जनलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा (३)(ग) अनुसार १२ देखि १४ वर्षसम्म कैद सजायको मागदाबी लिइएको छ ।
अदालतमा मुद्दा दर्ता भएपछि फरार रहेका बम्जनले मुद्दा दर्ता भएको करिब ४ वर्षपछि पक्राउ परेका थिए । बम्जनमाथि बलात्कार, बाल यौन दुरुपयोग, व्यक्ति वेपत्ता लगायतका मुद्दाहरू विभिन्न अदालतहरूमा चलिरहेका छन् ।
प्रतिकृया दिनुहोस्