पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपालको सुनुवाइ आज
काठमाडौं । पोर्चुगलका लागि नेपाली राजदूतमा प्रस्तावित सनिल नेपालको संसदीय सुनुवाइ आज (शुक्रबार) हुँदैछ । मन्त्रिपरिषद्बाट २३ कात्तिकमा राजदूत सिफारिस नेपालविरुद्ध परेको उजुरीमा छलफल गरेर संसदीय सुनुवाइ समितिले शुक्रबार दिउँसो सुनुवाइ गर्ने निर्णय गरेको हो ।
समितिले बिहीबार प्रस्तावित राजदूत नेपालविरुद्ध परेको एउटा उजुरी खोलेर सांसदहरूलाई वितरण गरेको छ । उज्ज्वलकृष्ण श्रेष्ठले दिएको उजुरीमा राजदूत नियुक्तिसम्बन्धी निर्देशिकाविपरीत भएको अनुपयुक्त सिफारिस अनुमोदन नगर्न माग गरिएको छ । कांग्रेस भ्रातृ संगठन नेविसंघको नेता र कांग्रेस नेता शशांक कोइराला निकट हुनु बाहेक उनको कुनै योग्यता नरहेको, पोर्चुगल देशसहित कुनै पनि परराष्ट्र मामिला नीति र अन्तर्राष्ट्रिय सम्बन्ध एवं कूटनीतिक क्षेत्रका अनुभव र ज्ञान नभएकाले अयोग्य रहेको उजुरीकर्ताको जिकिर छ ।
उजुरीको पुस्ट्याइँ र औचित्यतता पुष्टि गर्न समितिले शुक्रबारै उजुरीकर्ता श्रेष्ठलाई बोलाएको छ । उनीसँग छलफल गरिसकेपछि समितिले प्रस्तावित राजदूत नेपालको सुनुवाइ सुरु गर्नेछ । पोर्चुगलमा दूतावास खोल्ने र राजदूत पठाउने निर्णयबारे स्पष्ट पार्न समितिले परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाएको छ ।
शुक्रबार साढे २ बजे बस्ने बैठकमा दूतावास खोल्ने निर्णयबारे जानकारी गराउन मन्त्री साउदलाई आमन्त्रण गरिएको समिति सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । बिहीबारको बैठकमा एमाले सचेतक महेश बर्ताैलाले मुलुकको आर्थिक अवस्था ठीक नभएको, तर दूतावासको आवश्यकता खड्किएका वेला सरकारले आवश्यकताका आधारमा दूतावास खोल्ने निर्णय गरेको हो कि एकाध व्यक्तिलाई नियुक्ति गर्न भन्ने सवाल उठाउँदै सरकारसँग जवाफ मागे गरेका थिए । त्यसपछि समितिले परराष्ट्रमन्त्रीलाई बोलाउने निर्णय गरेको हो ।
प्रतिकृया दिनुहोस्