October 23, 2024, Wednesday
KN hd tv

कालिकोटमा पहिरोः एकै परिवारका ४ सहित १० को मृत्यु

कालीकोट –  कालिकोटमा पहिरोमा परेर दश जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवारका ४ जना समेत रहेका छन् ।  पहिराेमा पुरिएर एकै परिवारका ४ जनासहित १० जनाको मृत्यु भएको हाे । २ जना भने अझै पहिराेमा हराइरहेका छन् ।

कालिकोटको नाग्म बजारको पछाडिपट्टिको भिरालो जमिन आइतबार बिहान भासिएर पहिरो जाँदा घरभित्रै रहेकाहरू पुरिएका हुन् । पहिरोले लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरिकारका घर भत्किँदा पुरिएकामध्ये १० को शव फेला परेको हो ।

शुभकालिका गाउँपालिका–७ घर भई नाग्म बजारमा व्यापार गर्दै आएका एकै परिवाका ४ जनाको मृत्यु भएको छ । ४० वर्षीय प्रयाग शाही, उनकी ७ वर्षीया छोरी हिमा तथा छोराहरू ५ वर्षका नीराजन र डेढ महिनाका अक्कलको घर भत्किएर भित्रै च्यापिँदा मृत्यु भएको हो । यस्तै, सुर्खेतको भेरीगंगा–१० की ४५ वर्षीया आइती खड्का, वीरेन्द्रनगरका २३ वर्षीय अमृत थापा, स्थानीय ३५ वर्षीय मनवीर बडुवाल, २७ वर्षीय टेक भेरिकार, २४ वर्षीय थाइला भेरिकार, १० वर्षीय गजेन्द्र भेरिकारको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलियाले सुरुमा ८ र केही घण्टापछि २ जनाको शव फेला परेको बताए । उद्धार टोलीले डोजर पनि लगाएर पहिरो पन्छाउँदै बेपत्ताको खोजी गरिरहेको छ ।

खोजीमा सेना, सशस्त्र र नेपाल प्रहरीसँगै स्थानीय पनि लागिपरेका छन् । नाग्म बजारमा मोबाइल नेटवर्क छैन । घटनाको खबर केही ढिला गरी जिल्ला सदरमुकामसम्म पुगेको थियो । 

शीर्ष समाचार

धेरै पढिएको