November 21, 2024, Thursday
KN hd tv

कोशीका मुख्यमन्त्री कार्कीले भाेलि विश्वासको मत लिने

काठमाडौँ – काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार (भाेलि) विश्वासको मत लिने भएका छन् ।

२२ भदौमा प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका कार्कीले शनिबार विश्वासको मत लिने भएका हुन् ।

कार्कीले विश्वासको मत लिने प्रस्तावको सूचना प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीलाई बुधबार दिएका हुन् । संविधानको धारा १६८ को उपधारा (३) अनुसार भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले उक्त धाराको उपधारा (४) बमोजिम शनिबारसम्ममा विश्वासको मत लिनैपर्ने बाध्यात्मक अवस्था छ ।

प्रदेशसभा नियमावली २०७४ को नियम १२८ मा विश्वासको मत लिने प्रस्तावमाथि छलफल हुने दिनभन्दा दुई दिनअगावै प्रदेशसभा सचिवलाई सूचना दिनुपर्ने व्यवस्थाअनुसार कार्कीले सूचना दिएका हुन् । विश्वासको मतका लागि शनिबार दिउँसो १ बजे बस्ने प्रदेशसभामा उनले प्रस्ताव पेस गर्नेछन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्षको पनि मत खसेपछि सर्वोच्च अदालतले उनलाई पदमुक्त गरेकाे थियो। त्यसपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेका नेता कार्की मुख्यमन्त्री भएका थिए। तर अहिले पनि कार्कीले विश्वासको मत पाउने सम्भावना कम छ।

प्रदेशसभामा एमालेका ४० सांसद छन्। उपसभामुख सिर्जना दनुवारले सभाको अध्यक्षता गर्दा मतदान गर्न मिल्दैन। दनुवारले मत नहालेपछि एमालेका ३९ मात्रै सांसद कार्कीको पक्षमा हुनेछन्।

एमालेको गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि छ। तर राप्रपाले कार्कीले विश्वासको मत पाउने आधार भएमा साथ दिने जनाएको छ। राप्रपाले मत दिँदा पनि कार्कीको पक्षमा ४५ मत मात्रै हुन्छ। ९३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ४७ सांसद चाहिन्छ।

शीर्ष समाचार

धेरै पढिएको