केरामा पानामा रोगको सङ्क्रमण रेस–४ देखिएपछि आयातमा कडाइ
काठमाडौँ – केरामा पानामा रोगको सङ्क्रमण ट्रोपिकल रेस–४ देखिएपछि सरकारले आयातमा कडाइ गरेको छ । कैलालीको टीकापुरमा पानामा रोगको सङ्क्रमण देखिएसँगै नेपालभरिका नाकामा रहेका प्लान्ट क्वरेण्टीनहरूले उच्च सतर्कता अपनाएका हुन् ।
१४ वर्षअघि भारतबाट भित्रिएको पानामाको रेस–१ ले नेपालको केराखेतीमा धेरै क्षति पुर्याएकाे थियो । अहिले देखिएको रेस–४ ले नेपालमा रहेका सबै जातका केरामा क्षति पुर्याउने भएकोले सतर्कता बढाएको कृषि ज्ञान केन्द्र भैरहवाका प्रमुख शिवलाल अर्यालले बताउनुभयो ।
यो रोग सङ्क्रमित बिरुवा, माटो, पानी र कृषि औजारबाट एक ठाउँबाट अर्को ठाउँसम्म फैलने गर्दछ । भारतबाट आउने केराका गाडी रोग सार्ने प्रमुख स्रोत रहेकाले अहिले भन्सार विन्दुमै कडाइ गरिएको प्रमुख घिमिरेले बताउनुभयो । टिआर–४ केराका कोसाबाट नसर्ने भएकोले कोसामात्रै सुरक्षित गरेर ल्याएकोलाई मात्रै नेपाल भित्रने अनुमति दिने गरेको उहाँले बताउनुभयो ।
केरा लोड गरी आएका गाडीलाई भन्सार परिसरमै उनीहरूको टायर सफा गर्ने र कतै माटो नरहेको सुनिश्चित गरेपछि पठाउने गरिएको छ । यस्तै भारतबाट कुनै पनि प्रकारको केराको बेर्ना ल्याउन निषेध गरिएको छ ।
प्रतिकृया दिनुहोस्