कोशी प्रदेशमा एमालेकै सरकार बन्छ : अध्यक्ष ओली
विराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेकै सरकार बन्ने दाबी गरेका छन् ।
शुक्रवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘कोशीमा एमालेको सरकार बन्छ र चल्छ । मजाले चलाउँछ एमालेले । ४७ मात्रै होइन, ५० भन्दा बढी पुग्छ ।’
गठबन्धनको असंवैधानिक र अलोकतान्त्रिक क्रियाकलापले कोशीमा अस्थिरता निम्तिएको उनले बताए । ‘कोशीमा सरकार नबनेको कहाँ हो र ? सरकार बनाए भन्ने अनि सभामुखलाई भोट हाल्न लगाएर असंवैधानिक क्रियाकलाप गर्ने ? सभामुखलाई राजीनामा गराएर संकट खडा गर्नेजस्ता क्रियाकलाप गठबन्धनले गरेकाले समस्या खडा भएको हो,’ उनले भने, ‘यो त संविधानको घोर उल्लंघन हो नि ! कांग्रेसजस्तो पुरानो पार्टीले एकक्षणका लागि बलजफ्ती गर्ने र संविधान मिच्ने ? माओवादी पार्टी भनेको संविधान नमानेर र हतियार उठाएर हिँडेको हो । उसले संविधान मानेन भन्नु कुनै अनौठो हैन ।’
उनले सत्ता गठबन्धनले धार्मिक र साम्प्रदायिक सद्भाव बिथोल्ने प्रयास गरिरहेको बताए । सुनसरीको धरानमा पछिल्लो समय धार्मिक द्वन्द्व र साम्प्रदायिक सद्भाव भड्काउन सत्ता गठबन्धन उद्दत रहेको ओलीको आरोप छ ।
‘यस्तो क्रियाकलाप सत्ता गठबन्धनबाहेक अरु कसैले गर्नै सक्दैन, नेपालमा अस्थिरताको परिस्थिति निर्माण गराउने प्रयास भइरहेको छ,’ उनले भने, ‘प्रचण्डको नेतृत्वमा बनेको मोर्चाले यस्ता गतिविधि गरिरहेको छ, सत्ता संरक्षित यस्ता क्रियाकलाप हुनु बहुत दुःखद् कुरो हो ।’
कोशी प्रदेशको पक्षमा भोट हालेर अर्कातिर नारा–जुलुस गराउने काम पनि प्रचण्डले नै गरेको अध्यक्ष ओलीले बताए । ‘एकातिर कोशी प्रदेशमा भोट हाल्छ । अर्कातिर बाहिर निस्किएर नारा–जुलुस गर्छ । तोडफोड गर्छ, मान्छे मार्छ र मराउँछ, ढुंगा हान्छ र हनाउँछ,’ उनले भने, ‘यो प्रचण्ड नेतृत्वकै मोर्चाले गरेको हो । यस्ता गतिविधिमा प्रचण्ड र माधव नेपालकै पार्टीका मान्छेहरू बढी छन्, जसपा पनि होला ।’
प्रतिकृया दिनुहोस्