July 27, 2024, Saturday
KN hd tv

मध्यपहाडी पुष्पलाल लोकमार्गमा जोखिमै जोखिम

काठमाण्डौँ – मध्यपहाडी पुष्पलाल लोकमार्गको घोडाबाँधे–हटिया २० किमी खण्ड कालोपत्र भएको चार वर्ष पुग्यो । नियमित मर्मत तथा सुधार नहुँदा सडक लगभग पूर्ववत् स्थितिमा फर्केको छ ।

नालीको नामोनिसान छैन । पर्खाल जीर्ण छन् । नयाँ–पुराना पहिराले सडक कुरुप बनेको छ । कालोपत्र उप्केको छ । सडकभर खाल्डाखुल्डी छन् । यात्रामा पाइलैपिच्छे जोखिम छ । यसपालिको अधिक वर्षाले त झन सडकलाई क्षतविक्षत तुल्याएको छ । गलकोट नगरपालिका–१ र २ मा गरी चार ठाउँमा लोकमार्ग भासिएको छ । जम्दारे, भुङ्खानी, चौराहा र साइनपाटन सामुदायिक वन क्षेत्रमा उच्च जोखिम छ । जम्दारेको घुम्तीमा सडक भाँसिएपछि ठूला सवारी वारपार गर्न सक्ने स्थिति छैन । साँघुरिएको सडकमा बल्लतल्ल साना सवारी चल्छन् । “गाडी चलाउने जस्तो बाटै छैन, नचलाउँ किस्ता कसरी तिर्ने ?”, जीप चालक राजेन्द्र विकले भन्नुभयो ।

कालोपत्र भएको अर्को वर्षदेखि नै सडक बिग्रँदै गएको उहाँको भनाइ छ । यस वर्षायाममा सडक झन बिग्रिएको उहाँले बताउनुभयो । लगातारको वर्षाले जमिन गलेपछि सडक भाँसिएको वडा नं २ का अध्यक्ष हेमन्त भण्डारीले सुनाउनुभयो । “ठाउँठाउँमा पहिरा खस्ने र सडक भाँसिने भएपछि लोकमार्ग जोखिमयुक्त बनेको छ ।” नगरपालिकाका प्रवक्तासमेत रहनुभएका उहाँले भन्नुभयो । तत्काललाई पहिरा पन्छाएर यातायात सञ्चालन गर्ने गरिएपछि दीर्घकालीनरुपमा सडक सुरक्षाको काम हुन सकेको छैन । “राष्ट्रिय गौरवको आयोजना भए पनि यसको रेखदेख र मर्मत, सुधारमा खासै ध्यान गएको देखिन्न ।” अध्यक्ष भण्डारीले गुनासो गर्नुभयो ।

नाली सफाइ नहुँदा बढी समस्या निम्तिएको उहाँको भनाइ छ । केन्द्रीय आयोजना भएको हुँदा स्थानीय तह लोकमार्गप्रति उदासिन छन् । सामान्य मर्मत सम्भारका काम पनि आयोजनालाई देखाएर पन्छिने प्रवृत्ति छ । सडक भाँसिएको ठाउँमा थप क्षति हुनबाट रोक्नबाहेक तत्काल अरु केही गर्न नसकिने लोकमार्ग आयोजनाले जनाएको छ । “सामान्य पटके मर्मतले हुने अवस्था छैन, पुनः ठेक्का गरेर बृहत् मर्मत सुधार गर्नुपर्छ ।”

पटकपटक म्याद थप हुँदासमेत निर्माण कम्पनीले सडक कालोपत्र गर्न सकेको छैन । सदरमुकामसँगै जोडिएको सडक दूरावस्थामा छ ।

शीर्ष समाचार

धेरै पढिएको