July 27, 2024, Saturday
KN hd tv

आजदेखि उपत्यकासहित २०० भन्दा बढी कोरोना संक्रमित देखिएका ठाउँमा जोर विजोर लागू

काठमाडौं -उपत्यकामा दिनानुदिन कोरोनाभाइरसका संक्रमित बढ्दै गइरहेका छन् । यस्तै बुधबार साँझसम्म काठमाडौं उपत्यकामा १०२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा एकैदिन यति धेरै कोरोना संक्रमित देखिएको पहिलोपटक हो ।  

कोरोना संक्रमित भएका मध्य धेरै जना उपत्यका बाहिरबाट आएकाहरू रहेको बताइएको छ । एकै पटक धेरै कोरोना संक्रमितको संख्या बढेपछि अस्पतालमा शैय्या अभावले काठमाडौं उपत्यकामा मंगलबार संक्रमण पुष्टि भएका मध्ये १४ जनालाई घरमा नै राख्नु परेको बताइएको छ । 

जोर विजोर लागू भएसँगै फेरि सडकमा सवारी साधन पातलिएका छन् ।  जोर विजोर नियम अनुसार जोर दिन जोर नम्बरको र विजोर दिन विजोर नम्बरको सवारीसाधन सञ्चालन भए नभएकोबारे सुरक्षाकर्मीले बिहानैदेखि ठाउँठाउँमा चेकिङ सुरू गरेका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं, पर्सा, धनुषा, रौतहट र कैलालीमा कोरोनाका दुई सयभन्दा बढी सक्रिय संक्रमित छन्। ती जिल्लामा आजदेखि जोर विजोर नियम लागू भएको छ।

कतिपय सर्वसाधारणले भने समयमै सूचना नआएका कारण दुःख पाएको गुनासो गरेका छन् ।

राति ९ बजेपछि हिँडडुलमा पनि रोक

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा पनि रोक लगाइएको छ ।

यो प्रतिबन्ध काठमाडौँ उपत्यकासहित २०० भन्दा बढी संक्रमित देखिएको जिल्ला तथा ती जिल्लाका शहरी इलाकाको हकमा मात्र भएको गृह मन्त्रालयले बुधबार राति जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

१२१ दिनको लकडाउन अन्त्यको घोषणापछि सरकारले जोरविजोर हटाएको थियो ।

साउन ६ गते मध्यरातिबाट लकडाउन अन्त्यको घोषणापछि संक्रमित र मृतकको संख्या बढ्दै गएपछि सरकार फेरि संक्रमित बढी देखिएका क्षेत्र विशेषका आधारमा कडाई गर्ने निर्णयमा पुगेको हो ।

लकडाउन अन्त्यको घोषणा गर्दा ४० जना संक्रमितको मृत्यु भएकोमा त्यसयताका १५ दिनमा थप २० जनाको मृत्यु भएको छ ।  मृतक र संक्रमित बढेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार विज्ञहरूसँग लकडाउन गर्ने या नगर्ने भन्नेबारेमा परामर्शसमेत गरेका छन् ।

उक्त छलफलमा विज्ञहरूले सरकारलाई ‘स्मार्ट लकडाउन’ अर्थात् जहाँ संक्रमित देखियो त्यही क्षेत्रलाई आवश्यक परे कर्फ्यू लगाउनसमेत सुझाएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको